काठमाडौं – आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुन सँग छलफल गरेकी छन् । मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको स्थानीय सरकारका प्रमुखहरु, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा आज (मंगलबार) उर्जा मन्त्रालयमा छलफल भएको हो ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले जलस्रोतलाई प्रयोग गरेर नेपाल बनाउने अभियान अहिले नै गर्नुपर्ने बताइन । अबको १० वर्षपछि जलस्रोत प्रयोग गरेर बनाउने परियोजनाको सम्भावना नहुनसक्ने भन्दै उनले त्यस्तो बताइन । आँधिखोला जलविद्युत आयोजनाको सम्भावना के छ भन्ने सबै कुरा अध्ययन गरेर निष्कर्ष निकाल्न आग्रह गरिन ।
‘यो आयोजना गर्ने हो भने हामीले छिट्टै गर्नुपर्छ । यसको महत्व कम हुँदै गएको बेला पछि बनाउदा त्यो अर्थ रहदैन’, मन्त्री अर्यालले भनिन, ‘यो आयोजनाबारे अध्ययन गरेर यहाँहरुले निष्कर्ष निकाल्नुभएको होला । हामीले जतिसक्दो छिटो यो परियोजना अगाडी बढाउनुपर्छ ।’ मन्त्री अर्यालले प्राविधिक रुपमा के कस्तो सम्भावना रहन्छ त्यो कुरा बुझाइदिन आग्रह गरिन ।
जवाफमा उर्जामन्त्री अनन्तले आधिखोला आयोजनाको अध्ययनमा नै धेरै समय लागेको र अहिलेसम्म डकुमेन्ट प्राप्त हुन नसकेको बताए । आर्थिक तथा सबै हिसाबले आयोजना कत्तिको फाइदाजनक छ भन्ने कुरा अध्ययनले छिटो डकुमेन्ट दिनुपर्ने मन्त्री अनन्तले बताए ।
अध्ययन पुरा भएपश्चात् सरकारले आयोजनालाई नीजि क्षेत्रमा दिएर व्यवसायिक बनाउनुपर्ने भएमा नीजि क्षेत्रलाई आह्वान गर्ने बताउनुभयो । आधिखोल जलविद्युत आयोजना व्यापारिक रुपले त्यति नाफामूल नभएको भन्ने देखिएकोले त्यसका लागि अरु उपायहरु के हुन सक्छन् ? आयोजना के गर्ने भन्ने विषयमा के सम्भावना हुनसक्छ भनेर खोजी हुने मन्त्री अनन्तले विश्वास व्यक्त गरे । उनले भने, ‘व्यापरिक हिसाबले नाफामूलक नहुँदा अरु उपाय के हुनसक्छ वा होइन आयोजना छाडौ भन्ने हुन्छ की । माछा पालन गरेमा के हुन्छ ? पर्यटकीय हिसाबले के हुन सक्छ ? सबै हेरेर सम्भावना के हुनसक्छ ? भनेर अध्ययन गर्नुपर्छ ।’ त्यस क्षेत्रको पर्यटकीय महत्वका लागि आयोजना गरौं वा अन्य सबै पुर्वाधारका लागि आयोजना अगाडी बढाऔं भन्ने पनि हुनसक्ने बताए ।
प्राविधिक विषय आइसकेपछि यसलाई सकेसम्म सकारात्मक नै बनाउने मन्त्री पुनले बताए । २० औं वर्षसम्म होल्ड गरिसकेपछि ल हामीले सकेनौ भनेर सरकार पन्छिन नमिल्ने भन्दै उनले हिजो सरकारमा को थियो भन्ने कुराले अर्थ नराख्ने बताउनुभयो । ‘हिजो को मन्त्री थियो ? को प्रधानमन्त्री थियो भन्ने कुरा रहेन । सरकार भनेको अविछिन्न निरन्तर उत्तराधिकारी हो । हिजो को थियो भन्ने कुरा रहेन’, उर्जामन्त्री पुनले त्यसक्रममा भने, ‘२० वर्ष सरकारले होल्ड ग¥यो त्यहाँका जनताहरुका लागि । हामी सकेसम्म निराश हुन दिँदैनौ । यसलाई सराकात्मक रुपमा अगाडी बढाउनेगरी हेर्छौ ।’
आगामी १० वर्षमा सरकारले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै मन्त्री पुनले १० हजार मेगावाट आफैले प्रयोग गरेर बाँकी उत्पादन क्षेत्रीय बजार भारत र बङ्गलादेशमा बिक्री गरिने बताए ।
यसैगरी त्यस अवसरमा बोल्दै नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणले लामो समयदेखि अध्ययन गरेको आधिखोला जलविद्युत आयोजना अहिलेको कन्सेप्टमा १८० मेगावाट देखिएको जानकारी दिए । आयोजना अध्ययनकै क्रममा रहेको भन्दै उहाँले आयोजनाहरु र्याङकिङ गर्ने क्रममा अली पछि परेको बताए । स्याङ्जाको रमणीय ठाउँमा रहेको यो आयोजना बहुउद्देश्यीय आयोजना भएको भन्दै उहाँले पर्यटकीय हिसाबले समेत महत्वपुर्ण रहेको बताए । लागतको हिसाबले अरु आयोजना भन्दा महङ्गो आयोजना भएको भन्दै उनले प्राविधिक रुपमा उर्जा भने कम कम रहेको बताए ।
वि.सं.२०७७ असोज १४ बुधवार ०८:२९ मा प्रकाशित






























