१७ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार बढी सक्रमित भएपनि बन्दाबन्दी नहुने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको भन्दै काठमार्डौँ उपत्यकामा २५ हजार बढी सक्रमित भएपनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने स्पष्ट पारेका छन् ।
यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकको सिफारिस सँगै बढेको बन्दाबन्दीको त्रास शुक्रबार राजधानीमा उच्च संक्रमति भेटिएपछि जनमानसमा झनै त्रास फैलिरहेको बेला मन्त्रालयका प्रवत्ता गौतमले सो बारे स्पष्ट पारेका हुन् ।
उनले भने ‘सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ ।’ उनले निजी स्वास्थ्य सङ्घसंस्थासँगको सहकार्यमा सङ्क्रमितको उपचार गरिने पनि जानकारी दिए ।
सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:३५ मा प्रकाशित






























