१७ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।
सत्तारुढ दल नेकपाका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मानवअधिकार तथा सामाजिक अभियान, नेपाल (HR CAMPAIGN) को घोषणासभालाई शुभकामना मन्तव्य दिने क्रममा सो आग्रह गरेका हुन् ।
यो प्रणालीलाई स्वीकार गर्दै नगरेका र संविधानलाई स्वीकार गरेर फेरि यसको विरोधमा लागेका सबैलाई द्वन्द्वको बाटो त्याग्न र संवादको बाटोमा आउन आग्रह गर्दै प्रधानमन्त्रीले भने ‘हिंसाको बाटो त्यागौँ, द्वन्द्वको बाटो त्यागौँ, संवादको बाटामो आऊँ, संवादबाट सबै समस्या टुङ्ग्याउन सकिन्छ, यो नै सबै मानव जातिको हितमा छ ।’
‘केही व्यक्तिले अहिलेको प्रणालीले ठिक नभएको भन्दै आवाज उठाइरहेका छन् तर जनता सार्वभौम भएको यो भन्दा कुन प्रणाली ठिक हो त ?’ उनले प्रश्नसमेत गरे ।
प्रधानमन्त्रीले धेरै मानिसको सहभागितामा लेखिएको नेपालको संविधानले मानवजातीले भयरहित र सम्मानित भएर बाँच्न पाउने सबैखालका मानवअधिकारको संरक्षण गरेको उल्लेख गरे ।
शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले फेन्सी अधिकारको पक्षमा नभै साँचो अर्थमा मानवअधिकारको पक्षमा आवाज उठाउनु पर्ने बताए ।
आफू मानवअधिकारको पूर्ण रक्षाको पक्षमा भएको उल्लेख गर्दै उनले सडक बालबालिका र सडकमा मागेर बस्नेहरुको अभिभावकत्व ग्रहण गरेको बताउँदै सरकारले २०७८ साल सम्म बालबालिका मुक्त र भिखमगारहित सडक बनाउने योजनामा सरकारले काम गरिरहेको जानकारी गराए ।
उनले सरकारका सकारात्मक कुरालाई रचनात्मक सहयोग गर्नुपर्ने र कमिकमजोरी छन् भने औंल्याएर सहयोग गर्न एचआर क्याम्पेनलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र सरकारले मानव अधिकार सम्वन्धि प्रतिबद्धता कार्यान्वयनमा सधै जोड दिदै आएको बताए । उनले मानवअधिकारको वास्तविक कार्यान्वयनका लागि सबै पक्षको एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरु मानवअधिकारको पक्षमा हुन सक्दैनन् भन्ने भ्रमलाई चिर्दै कम्युनिष्टहरु नै लोकतन्त्र र मानवअधिकारका विषयमा सबैभन्दा गम्भिर रहेको कुरा क्रमशः पुष्टि हुँदै गएको बताए । एकता प्रक्रिया सोचे जसरी अघि नबढेपनि क्रमशः अघि बढीरहेको भन्दै उनले सो घोषणासभा त्यसैको एउटा कडी भएको बताए ।
कोभिड संक्रमणको बेला पनि महिलामाथि यौनिक हिंसा, बलत्कार, बोक्सीका घटना जस्ता विभिन्न खालका हिंसाका घटना बढ्नु चिन्ताको विषयको भएको बताउँदै दण्डहिनताको अन्त्य गरेर मानवअधिकारको प्रत्याभूत गर्न सकिने हुँदा यसदिशामा एचआर क्याम्पेन अघि बढोस् भन्ने शुभकामना उनले व्यक्त गरका थिए ।
कार्यक्रममा नवगठित संगठनको केन्द्रिय कमिटिमा रहेका ७७ जना सदस्यहरुलाई नेकपा महासचिव विष्णु पौडेल भर्चुअल प्रविधमार्फत सपथ ग्रहण गराएका थिए । उनले मानव अधिकारको विषयलाई पार्टीको घोषणा पत्रमा समेटेको उल्लेख गर्दै नेकपा सबै अधिकारको पक्षमा प्रतिबद्ध रहेको बताए ।
अभियानका संयोजक मिन शाहीले सभापतित्व गरेको र सहसंयोजक हुकुम पोखरेलले संचालन गरेको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, नेकपा नेतृ तथा एचआर क्याम्पेनका इन्चार्ज थममाया थापा र सहइन्चार्ज सत्या पहाडीले बोलेका थिए । बिष्णुपुकार श्रेष्ठ, बिजय सुब्बा लगायतका कार्यदलका नेतृव्वलाइ धन्यबाद दिइएको जुम प्रबिधिमा आयेजित सो कार्यक्रममा ८ सय बढीको उपस्थिति रहेको थियो ।
वि.सं.२०७७ असोज १७ शनिवार ०९:५० मा प्रकाशित






























