२२ असोज, काठमाडौं । अहिलेसम्मकै सर्वाधिक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले बिरामीलाई अस्पताल जान रोक लगाउन थालेको छ ।
कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले मृत्युको अन्तिम अवस्थामा मात्रै अस्पताल आउन आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां जागेश्वर गौतमले बिरामीलाई घुमाउरो तरिकाले मृत्यु शय्यामा पुग्ने अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन । कुनै पनि बिरामी बेहोस भएमा वा होलाजस्तो भएमा, पिसाब बन्द भएमा वा कम भएमा मात्रै अस्पताल जानुहोस् ।’
सरकारको यस्तो आग्रहप्रति चिकित्सक नै खुसी छैनन् । ‘स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र डा. गुणराज लोहनीको अगुवाइमा जुन अपिल गरिएको छ, यो जनताको मौलिक हकविरुद्ध छ,’ मन्त्रालयमै कार्यरत एक चिकित्सकले भने, ‘सामान्य अवस्थाको बिरामी अस्पताल पुग्दा पिसिआर रिपोर्ट नभएका कारण अकालमा मर्नुपरेको छ ।
सरकारले अस्पताल नआउन आग्रह गरेको भए पनि नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ ।
यसमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन ।’ त्यस्तै प्रत्येक नेपालीलाई ‘आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने’ स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरिएको छ । नयाँ पत्रिका
वि.सं.२०७७ असोज २२ बिहीवार ०७:४८ मा प्रकाशित






























