काठमाडौं । प्रतिनिधि सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सांसद बनेकी सानु शिवा पहाडीको निधन भएको छ । समानुपाति सांसद पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा बुधबार निधन भएको हो । पहाडी जनवादी गायिका पनि हुन् ।
मुटुमा समस्या देखिएपछि उपचारको लागि उनलाई काठमाडौं मेडिकल कलेज भर्ना गरिएको थियो । उनी पछिल्लो समय मुटु र मृगौलाको समस्याले पीडित थिइन् ।
राजनीतिका साथसाथै सांगीतिक क्षेत्रमा सक्रिय पहाडीले २५ भन्दा धेरै जनवादी गीतमा स्वर दिएकी छिन् । उनी नेकपा निकट जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्।
वि.सं.२०७७ असोज २८ बुधवार १३:११ मा प्रकाशित






























