२८ असोज धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ ।
यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । रासस
वि.सं.२०७७ असोज २८ बुधवार १३:१३ मा प्रकाशित






























