काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधानका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साढे दुई घण्टासम्म छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ देखि १२ बजेसम्म छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
उनका अनुसार कर्णाली विवादबारे भएको छलफलको कुनै निष्कर्ष भने निस्किएको छैन् । ‘आज लामै छलफल भयो तर, कुनै निष्कर्ष निस्किएको छैन्’ सापकोटाले संसार न्यूजसँग भने, ‘छलफललाई सकारात्मक भएको जानकारी छ ।’
उनका अनुसार कर्णाली विवादबारे छलफल गर्न कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ । बिहिबार दुवै अध्यक्ष बसेर त्यसको किनारा लगाउने गरि छलफल हुनेछ ।
आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व एकाएक अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेकपाभित्र नयाँ विवादको सुरुवात भएको छ । प्रचण्ड पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच सहमती भएसँगै तत्कालको लागि कर्णालीकाे सत्ता संकट टरेकाे भएपनि विवाद भने सकिएकाे छैन् । जसबारे दुई अध्यक्षबीच छलफल पनि चलिरहेको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार १३:४७ मा प्रकाशित






























