२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली युवतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई न्युर्योकमा बस्दै आएकी परु श्रेष्ठ (जिना) को लङ्ग आइल्याण्ड रेल रोड (एलआइआरआर) को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा मृत्यु भएको बताइएको छ ।
न्युयोर्कको नेपाली समुदायका अनुसार आउँदो शनिबार उनको दाहसंस्कार गरिने भएको छ ।
प्रहरीका अनुसार उक्त घटना वुडसाईट स्टेसन(चौकी)नजिक भएको र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनापछि अस्थायी रुपमा जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो ।
प्रहरीका अनुसार अनाधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठक्कर दिएको थियो । घाइते भएकी उनलाई तत्कालै चिकित्सकको टोलीले बचाउने कोशिष गरे पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले श्रेष्ठको दुर्घटनामा परि भएको मृत्युले नेपाली समुदायलाई स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
वि.सं.२०७७ असोज २९ बिहीवार ०७:३६ मा प्रकाशित






























