मेरो योगदानले त के नै पो परिवर्तन गर्ला र, तर यहॉका युवाहरू जागरूक भए भने यो देश स्वर्ग बन्नेछ। मन शान्त, समाजमा शान्ति, र जिवनयापनमा स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ। जरा सुकेर नेपालको पहिचान नमेटिओस्।
म त एक साधारण स्वतन्त्र जागरूक सचेत नागरिक मात्र हो । मेरा निम्ति स्वतन्त्रताको अर्थ कुनै पदको पछि लाग्नु छैन। अब पैसाका लागि मरिमेट्नु पनि परेको छैन। लवाई खवाई साधारण छ, कुनै कडा रोग आजसम्म लागेको छैन। त्यसैले यी सबका लागि पैसाको पछि दगुर्न परेको पनि छैन। समाजमा दुस्ख परेका कोही भेटियो भने सहयोगका लागि जे गर्न आफ्नो क्षमता छ त्यति सक्दो गरिरहनुपर्छ भन्छु र त्यसमा साथीहरूसंग सहयोग पनि माग्छु।
म कुनै सार्वजनिक जिम्मेवारीको पदमा पनि छैन, पदीय दायित्व पनि छैन, पदको आकांक्षी पनि छैन। कसैप्रति जवाफदेही पनि छैन, कसैप्रति उत्तरदायी पनि छैन। जागिरमा पुग्न पर्ने सकिने शिर्ष पद पाई सकेर सेवा निवृत्त भएको हो। ३ दशक जागिरे हुदा मुलुकका कुनाकन्दरा पुगेर, विश्वका २ दर्जन देश भ्रमण र अवलोकन गरेर, देश हॉकेर दुनियादारी बुझिसकेको हो। त्यसैले म आज विवादित हुनु वा नहुनुले मेरा काम वा जिवनयापनमा कुनै फरक पनि पर्ने हैन। मेरो बिरोध गर्नेहरूलाई त्यसबाट १ पैसा पनि फाईदा पुग्ने पनि छैन, किनभने म तिनका वा अरू कसैको प्रतिद्वन्दी नै हैन।
जागिरमा रहँदा त ममा न लोभ आयो, न डर जाग्यो, न प्रलोभनले छोयो, न कसैको धम्कीले ! अब त झन् त्यसको मतलब किन हुन्थ्यो र !
हाम्रा सन्तानहरू सबै आफ्नै क्षमताबाट राम्ररी प्रतिष्पर्धात्मक छात्रवृत्ति जितेर, पढेर, सक्षम भएर अहिले आआफ्ना ईन्जिनियरिंग पेशा गरेर राम्रै जिवन चलाइरहेका छन्। उनीहरू आफ्नै क्षमताले राम्ररी अब्बल विद्यार्थी बन्दै उच्च शिक्षासम्म निस्शुल्क पढ्न पाएका हुन्। उनीहरूले शिक्षादीक्षाका लागि हामी मातापितालाई कहिल्यै आर्थिक भार पारेनन्। त्यसैले सरकारी कामका लागि अफिस जानुबाहेक सरकार र नेताको पछिपछि हाम्रो परिवारमा आजसम्म कोही दगुर्न परेको छैन।
स्वतन्त्रता भनेको आर्थिक भन्दा पनि मानसिक र आध्यात्मिक कुरा हुदोरहेछ। त्यसैले होला, मलाई कसैले गरेको आलोचना, विरोध वा वाह वाहीले केही फरक पर्ने गरेको छैन। मेरो काममा अरू कसैको धारणाले फरक पार्ने पनि गर्दैन। तिनका सकारात्मक कुरा रहेछन् भने मनन गर्छु, ग्रहणयोग्य छ भने महत्व दिदै सकार्छु। थोत्रा काम नलाग्ने कुरा छन् भने मिल्काई दिन्छु, नजरअन्दाज गर्ने गर्छु। रिस गर्नु त के कुरा, तिनको मलाई याद पनि आउदैन।
मानिसले आफ्नो कर्तब्य निरन्तर गरिरहनुपर्छ, नतिजा जे जस्तो आउछ त्यो आउछ। त्यसपछि जे उचित हुन्छ गरिनुपर्छ। मेरो जिवनशैली र दर्शन यही हो जस्तो लागेको छ। म धार्मिक मानिस नै होईन, म पुजापाठ गर्ने कर्मकाण्डीय घरमपरिवारमा हुर्केको हैन। मैले संस्कृत पढिन, २०२७ सालमा नयॉ शिक्षा लागू भएपछि संस्कृत विषय ऐच्छिक बन्यो। संस्कृतको ठाउँमा मैले गणित पढेँ, किनकि म ईन्जिनियर बन्न चाहन्थेँ। र छात्रबृति पाएर विदेशमा पढ्न गएँ। ईन्जिनियर बनेर स्वदेश फर्के। आजसम्म यही स्वदेशमा जीवन बिताउँदै छु। तर मेरो जरा भने हिन्दू समातनी हो। मातृभाषा नेपाली हो, जसरी अरू सबैको मातृभाषा हुन्छ। नेपाली लगायत नेपालका सबैजसो भाषाको जननी संस्कृत भाषा हो, अर्थात यो हजुरआमा भाषा हो।
कुनै धर्म परम्परामा चॉसो नभएकोले होला म त सर्वधर्मी बन्दै गएँ। अध्यात्म र धर्म फरक हुन्। अध्यात्म मेरो पक्ष हो। संस्कृतमा भनिने धर्म र विदेशले भन्ने रिलिजनमा ‘धर्म’ आनका तान फरक छ।
मेरो पहिचानको जरालाई अरूले मलजल हाल्दिने होईनन्। मेरो पहिचानका लागि मेरो जरामा मैले मलजल नगरे कसरी फल लाग्छ र ? अरूले आ–आफ्नोलाई मलजल गरेकै छन्, गर्छन्। नेपाली समाज जराबिहीन धर्मान्ध नबनोस् भनेर लेखेर सचेतना जगाईरहेको हुन्छु। राम्रा उर्जाकृत चर्च, मस्जिद, गुरूद्वार, गुम्बा जहॉ जहॉ भेट्छु दर्शन गर्छु, एकछिन मेडिटेट गर्छु। नेपालका रैथाने सबै अध्यात्मिक पक्षहरूको खोज गरेर नेपाल समृद्ध आध्यात्मिक एव अनुकरणीय धार्मिक मुलुक बनाउनु पर्छ र हाम्रो पहिचानको जगेर्ना गर्न जरालाई सिँचाई गरिरहनु पर्छ भनेर म ब्यक्तिगत ढंगमा, सांगठनिक हैन, अलिअलि लाग्ने गरेको हो।
मेरो योगदानले त के नै पो परिवर्तन गर्ला र, तर यहॉका युवाहरू जागरूक भए भने यो देश स्वर्ग बन्नेछ। मन शान्त, समाजमा शान्ति, र जिवनयापनमा स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ। जरा सुकेर नेपालको पहिचान नमेटिओस्।
वि.सं.२०७७ असोज २९ बिहीवार १२:५१ मा प्रकाशित






























