काठमाडौं । अचानक काठमाडौं देखिएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल २१ घण्टे काठमाडौं बसाईँ पछि दिल्ली फर्किएका छन् । बुधबार दिउसो १ बजे भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं ओर्लिएका उनी बिहिबार बिहान सवा १० मा दिल्ली फर्किएका हुन् ।
गोयलले काठमाडौं बसाईँका क्रममा अत्यन्तै महत्वपूर्णं भेटवार्ता गरेका छन् । उनले नेपालमा रहँदा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । गोयलले प्रधानमन्त्री ओलीसँग बुधबार राती झण्डै दुई घण्टा भेटवार्ता गरेका थिए ।
गोयलले बिहिबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको बुझिएको छ । उनले सत्तारुढ दलका अन्य केही शीर्ष नेतासँग पनि भेटवार्ता गरेको जानकारी आएको छ । रअ प्रमुख गोयलले प्रमुख प्रतिपक्षी दलका उच्च नेताहरुसँग हयात होटलमा आयोजना गरिएको रात्रिभोजका क्रममा समय बिताएका थिए ।
‘गोयलसँग आपसी सम्बन्धबारे छलफल भयो’
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल–भारतबीच देखिएको समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री ओली र गोयलबीच छलफल भएको जानकारी दिएका छन् । बुधबार राती झण्डै २ घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले देखिएका समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने धारणा गोयलसँग राखेको थापाले बताएका छन् ।
‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ, उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाले प्रेस नोटमार्फत भनेका छन्, ‘भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नुभयो । ’
भेटवार्ताप्रति नेकपाभित्र तरंग
सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला रअप्रमुखको अप्रत्यासित भ्रमण र भेटवार्ताले नेकपाभित्र तरंग मच्चिएको छ । प्रधानमन्त्री ओलीले सत्तारुढ पार्टीभित्रैका नेतालाई समेत पत्तै नदिई गोयलसँग भेटवार्ता गरेको बुझिन्छ । गोयलको नेपाल भ्रमण र भेटवार्ताबारे ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरुसँग पनि छलफल नगरेको बुझिएको छ ।
गोयलसँगको भेटवार्ताबारे केहि सञ्चारमाध्यममा नाम जोडेर समाचार आएपश्चात प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाउँदै भनाईसमेत सार्वजनिक गरेका छन् । पछिल्लो पटक गरिएका महत्वपूर्णं नियुक्ती र कर्णालीभित्रको समस्याको कारण नेकपाभित्र विवाद चर्कदों छ । यसबीच ओलीले रअप्रमुखसँग गरेको गोप्य भेटवार्ताले शंका बढाएको देखिन्छ ।
प्रधानमन्त्रीकै कारण सीमा मुद्दा कमजोर हुने देखियाे : राम कार्की
सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख राम कार्की गोयलसँग भेट्न नेताहरुले देखाएको आशक्ति लज्जाजनक भएको टिप्पणी गर्दछन् । गोयलसँग भेटेर प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा कुल्चिएको उनको धारणा छ ।
‘कर्मचारी संयन्त्रको व्यक्तिसँग कर्मचारी संयन्त्रकै व्यक्तिले भेट्न मिल्छ तर राजनीतिक संयन्त्रका मानिसले गोप्य भेट्नेकुरा मिल्दैन् अनि सुहाउँदैन, प्रधानमन्त्री, मन्त्रीहरुले गोप्य भेट्ने कुरा नसुहाउँदो भयो’, कार्कीले संसार न्यूजसँगको कुराकानीमा भने ।
उनले ओलीले गोयलसँग भेटेर सीमासम्बन्धी समस्याको हल्का बनाएको पनि टिप्पणी गरे । कार्कीले अघि भने, ‘लिपुलेकलगायतका विषयमा विवाद भईरहेका बेला यो हल्लाका पारा देखाउनु त अति नसुहाउँदो विषय हुन्छ । नेताहरु स्वतन्त्र छन् स्वतन्त्र निर्णय गर्दछन् भनेर देखाउन पनि यस्तो हानालुछ भेटघाट गर्न हुँदैन् । लिम्पियाधुराको कुरा पनि राजनीतिक खपतका लागि मात्रै हो कि भन्ने अर्थ दिन्छ ।’
वि.सं.२०७७ कात्तिक ६ बिहीवार १६:२४ मा प्रकाशित






























