काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन अझै पनि सहमत देखिएका छैनन् । सचिवालयका बहुमत सदस्य (५ सदस्य)ले लिखित रुपमा गरेको आग्रह पनि व्यर्थ भएको छ । शनिबार भेटेरै लिखित रुपमै दिएको ‘अल्टिमेटम’ पनि व्यर्थ भएको देखिन्छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गरेको भेटमा पनि ओलीले बैठक बोलाउन अनिच्छा देखाएका छन् । श्रेष्ठका अनुसार प्रचण्डले बिहिबार कात्तिक २७मा बैठक बोलाउन ओलीसँग पुनः आग्रह गरेका थिए ।
तर, ओलीकै सहमतीको प्रतिक्षामा
गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यको बैठकले ओलीलाई सचिवालय बैठक डाक्न सामुहिक रुपमा भेटेरै अल्टिमेटम दिने निर्णय गरेको थियो । जसको भोलीपल्ट अर्थात् शनिबार उनीहरुले सामुहिक रुपमा भेटेरै लिखित अल्टिमेटम दिएका थिए । तर, उनीहरुको अल्टिमेटमलाई भने ओलीले पूर्णं वेवास्ता गरिदिए ।
ओलीको वेवास्ताका बीच मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकप्रति सबैको चाँसो बढेको थियो । नयाँ निष्कर्ष या निर्णय आउला भन्ने । तर, फेरि पनि ५ सदस्यको बैठक ओलीले सहमती दिने अपेक्षासहित टुंगीएको छ ।
पत्रकारसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठका अनुसार ओलीले बैठक बोलाउने आशासहित छलफल टुंगीएको छ। ‘अध्यक्ष कमरेडले प्रचण्डले प्रस्ताव गर्नुभएअनुसार भोलीको उहाँको कार्यक्रम सकिसकेपछि पर्सी बैठक बस्ने कुरामा सहमती जनाउनु हुनेछ र सहमतीकै आधारमा बैठक बस्नेछ भन्ने हामीले आशा गरेका छौं’, बैठकपछि पत्रकारसँगकाे कुराकानीमा उनले भनेका छन् ।
फेरि पनि नभए…
प्रवक्ता श्रेष्ठका अनुसार फेरि पनि नभए के गर्ने भन्ने विकल्प अहिले छैन् । जसका बारे ५ सदस्यले कुनै पनि सोंच बनाएका छैनन् । ‘हामीले आशा गरेका छौं, पर्सी बैठक बस्नेछ, बसेन भने पनि के गर्ने, अहिले नै हामीले सोंच्न चाहन्नौं’, उनले भने ।
ओलीले अनिच्छा देखाउँदा देखाउँदै बहुमत सदस्य किन यति निरीह बन्दैछन् भन्ने प्रश्न उब्जीएको छ । जसबारे प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीले पार्टीभित्रको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्तै संवेदनशील छौं । धैर्यताका साथ हामीले सहमतीमै बैठक बस्न पर्यत्न गरीरहेका छौं । यो कमजोरी होइन् बरु हामीले पार्टी एकतालाई बचाउँदै सबै कमरेडहरुले आफ्नो विवेक प्रयोग गरेर सहमतीमै बैठक बसेर पार्टी एकताको रक्षा गर्ने र पार्टीका निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढन् प्रर्यत्न गरिरहेका छौं ।’
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १८:५३ मा प्रकाशित






























