२६ कात्तिक, काठमाडौँ । माओवादी र विप्लवको कार्यकर्ता हौँ भनेर फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नुवाकोट ककनीका ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछापका ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेका ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुरका ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।
काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर आपराधिक लाभ लिन नहुने कसुर मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद गरी काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:३२ मा प्रकाशित






























