२६ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचिकृत हुन आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशित गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितको लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचिकृत हुन आह्वान गरेको हो ।
नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होमआइसोलेसनमा रहेका छन । “होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई टेलीमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचिकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ, “ सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्मा दर्ता हुनुपर्ने छ ।”
स्वास्थ्य संस्थाले सूचिकृत भएर होम आइसोलेसनमा रहेका सङ्क्रमितको उपचार गर्नसक्ने बताइएको छ । नेपालमा सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र सङ्क्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ । रासस
वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:४२ मा प्रकाशित






























