

२६ पुस, हेटौँडा । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहा अभियानलाई देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।
थाहा दिवसको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको आज यहाँ समापन गर्दै उहाँले अन्यायका विरुद्धमा छाप्रे र महिला तथा गरिबको मुक्तिका लागि विष्टले चलाएको थाहा अभियानलाई सबैले सक्दो प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको छ भन्नुभयो ।
मकवानपुरस्थित थाहा नगरमा सामाजिक क्षेत्रमा क्रियाशील ‘फरक सोच’ अभियानले थाहा आन्दोलनका प्रणेता दीवङ्गत विष्टको ८४ औँ जन्मजयन्तीका अवसर पारेर दोस्रो थाहा दिवस मनाइएको हो । विष्टको जन्म १९९० साल पुुस २६ गते भएको थियो ।
कार्यक्रममा पूर्वस्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, शालिक संरक्षण समितिका संयोजक राजेश केसीलगायतले रुपचन्द्र विष्टले सामाजिक तथा सास्कृतिक रुपान्तरणका लागि थाहाको माध्यमबाट पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
सो अवसरमा स्थानीय बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडासमेत प्रदान गरिएको छ । नेपाल चलचित्र वितरण समितिका सदस्य विकासकुमार प्रधानले सय जना विपन्न वर्गका व्यक्तिलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो ।
फरक सोचका अभियन्ता यादवजङ्ग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई कदरपत्रसमेत प्रदान गरिएका छन् ।
विष्टको नारी शिक्षित भए मात्र विकास हुन्छ भावनालाई कदर गर्दै अभियन्ता रायमाझीले रु एक लाखको अक्षय कोषको घोषणा समेत गर्नुभयो । रासस
वि.सं.२०७३ पुस २६ मंगलवार १४:३२ मा प्रकाशित