९ मङ्सिर, दाङ । कुटपिट गरी हजुरआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १०:५३ मा प्रकाशित






























