back
CTIZAN AD

नेकपालाई सिध्याउँछु भन्ने गृहमन्त्री बादलको सोंच आफ्नो चिहान आफैँ खन्नु हो : प्रवक्ता प्रकाण्ड

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

1.4K 

shares

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्नो पार्टीलाई सिध्याउने सरकारको योजना प्रतिउत्पादक हुनसक्ने चेतावनी दिएका छन् । क्षेप्यास्त्र नामक एक साप्ताहिकसँगको अन्तरवार्तामा प्रकाण्ड नेकपालाई सिध्याउन खोज्नु आफ्नो चिहान आफैं खन्नु भएको बताए ।

‘श्रमजीवि जनताको क्रान्ति र आन्दोलनहरुलाई शासक वर्गले दमन गरेर सिद्धाउँछु भन्नु पागलपूर्ण मूर्खता र आफ्नो चिहान आफैँ खन्नु हो, दमनले जनक्रान्ति र आन्दोलनहरु कतै पनि रोकिका छैनन्, सिद्धिएका पनि छैनन’, उनले भनेका छन् ।

प्रकाण्डका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपालाई सिध्याउन सुरक्षा निकायलाई गोप्य परिपत्र गरेका छन् । जसबारे नेकपा जानकार छ । प्रकाण्डले गृहमन्त्री बादलको उक्त कदम आगोसँग खेल्नुजस्तै भएको टिप्पणी गरे ।

‘गृहमन्त्री रामबहादुर थापाले हाम्रो पार्टी र क्रान्तिलाई दमन गर्नको निम्ति गृह प्रशासनलाई पछिल्लो समय गोप्य परिपत्र जारी गरेको सूचना पार्टीलाई प्राप्त भएको छ । गृहमन्त्रीले के कुरा बुझ्नु पर्छ भने यो नेपाली जनताको एकीकृत जनक्रान्ति हो र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित छ’ उनले भनेका छन्,‘ यसलाई जिस्क्याउनु र यससँग खेल्नु भनेको आगोसँग खेल्नु हो । जनक्रान्ति दलाल पुँजीवादी राज्य व्यवस्थालाई धुलोपिठो पारेर विजयी बनेर छाड्ने छ । बरु समयमै आफ्नो गल्तीलाई सच्चाएर जनक्रान्तिलाई मद्दत गर्नु थापाको निम्ति हितकर हुने छ ।’

यस्तो छ क्षेप्यास्त्रलाई उनले दिएको अन्तरवार्ताको छाेटा अंश :

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ वर्ष पूरा भइसकेको छ । तपाईंहरुले भने जस्तो र जनताले सोचेजस्तो उपलब्धि अहिलेसम्म हासिल हुन सकेन, किन होला ?

निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकद्मीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष पूरा भएर मंसिर ८ गतेबाट सातौं वर्षमा प्रवेश गरेको छ । हाम्रो देश नेपाल र नेपाली जनताको मुक्ति चाहने नेपालका क्रान्तिकारी कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, राष्ट्रवादीहरु, प्रगतिशील तप्काहरु र श्रमजीवि नेपाली जनताको निम्ति यो दिन निकै महान्, ऐतिहासिक र गौरवपूर्ण पर्वको दिन हो । यो महान् पर्वको दिनको उल्लासपूर्ण अवसरमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजमा संचालित ‘एकीकृत जनक्रान्ति’, १० वर्षे ऐतिहासिक जनयुद्ध र ०७ सालदेखि नेपालको राजनैतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन देश र नेपाली जनताको मुक्तिका निम्ति उत्र्सग गर्ने महान् शहिदहरुप्रति उच्च सम्मानका साथ सगर्व भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुको सपना पूरा गर्न पार्टीको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिमा ‘स्वतन्त्रता या बलिदान’ को मार्ग रोजी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

महान् शहिदहरुका आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु । बेपत्ता र घाइते योद्धाहरुको उच्च सम्मान र स्मरण गर्दछु । हाम्रो पार्टीका नेता कार्यकर्ता, वामपन्थी, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील शक्ति र आमश्रमजीवि नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको क्रान्ति, परिवर्तन र विकासमा यहाँहरुका पाइला अविरल अगाडि बढिरहने र हाम्रो पार्टी एवं एकीकृत जनक्रान्तिले यहाँहरुको निरन्तर साथ सहयोग पाइरहने विश्वास पनि व्यक्त गर्दछु ।

कुनै पनि देश र समाजमा गरिने क्रान्तिले आमूल परिवर्तनलाई सुनिश्चित गर्दछ । अतयव यो आफैँमा भीषण, निर्मम र कष्टसाध्य हुन्छ । क्रान्ति कठिन तर अनिवार्य सामाजिक प्रक्रिया भएको हुनाले यसले सापेक्षित समयावधि लिन्छ नै ।

राष्ट्रिय राजनीतिमा अहिले हाम्रो पार्टी दलाल पुँजीपति वर्गका संसदीय पार्टीको विकल्प बनेको छ । आमनेपाली श्रमजीवि जनताको आफ्नै विश्वासिलो प्रतिनिधि राजनैतिक पार्टी बन्दै गएको छ । एकीकृत जनक्रान्ति नेपाली जनताको आशा, विश्वास र मुक्तिको शक्तिशाली हतियार बन्दै गएको छ । हाम्रो पार्टीको जिम्मेवारी र नेपाली जनताको चाहना एक पछि अर्को पूरा हुँदै गएका छन् र तीव्रतामा पूरा हुँदै जाने पनि छन् । देशको विकराल र संकटग्रस्त अवस्थाले क्रान्ति शीघ्रातिशीघ्र निर्णायक होस् र दलाल पुँजीपति वर्ग एवं त्यसको राज्य व्यवस्थालाई नाश गरोस् भन्ने आमनेपाली जनताको अधैर्यता छ । ती दिन अब टाढा छैनन् ।

पछिल्लो समय तपाईंको पार्टीले सडक संघर्षमा जोड दिएको देखिन्छ, सडक संघर्षबाट वर्तमान संकटको समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा पार्टी पुगेको हो ?

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने श्रमजीवि जनताको क्रान्तिका बहुआयामिक मोर्चाहरुमध्ये फौजी मोर्चा र जनसंघर्षको मोर्चा निर्णायक हुन्छन् । के.पी. ओली सरकारले हाम्रो पार्टी र एकीकृत जनक्रान्ति माथि प्रतिबन्ध लगाएर फासीवादी दमन गरेको झण्डै २ वर्ष पुग्न थाल्यो । प्रतिबन्ध र दमनका विरुद्धको प्रतिरोध संघर्षमा जनक्रान्तिले गरेको विकास, यसले पैदा गरेको जनसंघर्ष विकासको आवश्यकता र सडक संघर्षको नेतृत्व गर्न नेपाली जनताले पार्टीसँग गरेको मागलाई उच्च प्राथमिकतामा राखेर सडक संघर्षलाई अगाडि बढाउन खोजिएको हो ।

हालै गृहमन्त्री रामबहादुर थापाले तपाईंको पार्टीलाई निस्तेज पार्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । यस्तो अवस्थामा सडक संघर्ष कसरी प्रभावकारी होला ? यसबारेमा पार्टीले के सोचेको छ ?

श्रमजीवि जनताको क्रान्ति र आन्दोलनहरुलाई शासक वर्गले दमन गरेर सिद्धाउँछु भन्नु पागलपूर्ण मूर्खता र आफ्नो चिहान आफैँ खन्नु हो । दमनले जनक्रान्ति र आन्दोलनहरु कतै पनि रोकिका छैनन् । सिद्धिएका पनि छैनन ।

गृहमन्त्री रामबहादुर थापाले हाम्रो पार्टी र क्रान्तिलाई दमन गर्नको निम्ति गृह प्रशासनलाई पछिल्लो समय गोप्य परिपत्र जारी गरेको सूचना पार्टीलाई प्राप्त भएको छ । गृहमन्त्रीले के कुरा बुझ्नु पर्छ भने यो नेपाली जनताको एकीकृत जनक्रान्ति हो र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित छ । यसलाई जिस्क्याउनु र यससँग खेल्नु भनेको आगोसँग खेल्नु हो । जनक्रान्ति दलाल पुँजीवादी राज्य व्यवस्थालाई धुलोपिठो पारेर विजयी बनेर छाड्ने छ । बरु समयमै आफ्नो गल्तीलाई सच्चाएर जनक्रान्तिलाई मद्दत गर्नु थापाको निम्ति हितकर हुने छ ।

दमनको प्रतिरोध जनक्रान्तिको नियम र वस्तुगत आवश्यकता हो । दमनका विरुद्ध नै जनसंघर्ष संचालन गर्ने हो । हामीले जनसंघर्षबाट प्रतिबन्ध र दमनलाई असफल पार्ने छौं, जुन सम्भव र आवश्यक दुवै छ ।

तपाईंको पार्टीका महासचिवले केही समयअघि विज्ञप्तिमार्फत् वर्तमान संकटको निकाश संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्था परिवर्तन हो भन्नु भएको थियो । वर्तमान अवस्थामा राज्यव्यवस्था परिवर्तन सम्भव छ त ?

हाम्रो पार्टी र एकीकृत जनक्रान्तिले उठान् गरेका देश र नेपाली जनताका मुद्दालाई बुझ्ने र त्योअनुसारको पार्टीसँग व्यवहार गर्ने सवालमा ओली सरकार पूरै असफल भएको छ । ओली सरकारले हाम्रो पार्टीसँग अहिलेसम्म गरेको व्यवहार विगतका जनविरोधी फासीवादी सरकारले जनताको आन्दोलन र क्रान्तिका विरुद्ध अपनाउने निरङ्कुश, दमनकारी दृष्टिकोण र रबैया नै अपनाइराखेको छ । ओली सरकारका अभिव्यक्ति र क्रियाकलापबाट दमन गरेर हाम्रो पार्टीलाई दलाल पुँजीवादी राज्यव्यवस्था र यसको संविधानको टाङमा छिराउने दिवास्वपना देखेको पाइन्छ । हाम्रो पार्टी र जनक्रान्तिप्रतिको ओली सरकार र ओली–दाहाल पार्टीको यो डरलाग्दो भ्रामक धारणा हो । यसले देशलाई दुर्घटनातिर धकेल्ने खतरा छ ।

देशमा विद्यमान राजनैतिक संकटको समाधानसम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने क्रममा पार्टी महासचिव क. विप्लवले विज्ञप्तिमार्फत् संविधान संशोधन वा परिमार्जनबाट होइन, देशको संकटावस्थाको निकास राज्य व्यवस्था परिवर्तनबाट खोज्नु पर्छ भन्नु भएको हो ?

अहिलेको संविधान र राज्य व्यवस्थाले न विगतमा परिवर्तनको निम्ति गरिएका राजनीति आन्दोलन, १० वर्षे जनयुद्धको मर्म र भावना प्रतिबिम्बित गरेको छ, न त अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न सकेको छ । यसले त प्रतिक्रान्ति, राष्ट्रघात र जनघातको प्रतिनिधित्व गरेको छ । यो नेपाली श्रमजीवि जनताको संविधान र राज्य व्यवस्था नभएर दलाल पुँजीपतिको हो । जसका कारण देश संकटको भूमरीमा परेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, एकीकृत जनक्रान्तिको हतियार र आमनेपाली जनताको सहभागितामा जवर्जस्त देश र जनताको थाप्लो माथि थोपरिएको दलाल पुँजीपति वर्गको राज्यसत्ता र शासन व्यवस्था छिटोभन्दा छिटो अन्त्य गर्न ढिलो भइसकेको छ । उपरोक्त ऐतिहासिक राजनैतिक कार्यलाई एकीकृत जनक्रान्तिको विकासले धेरै हदसम्म सम्भव तुल्याउँदै गएको छ ।

भारतीय खुफिया संस्था रअका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मुकुन्द नरवाणेको नेपाल भ्रमण पछि देशमा वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ भनिन्छ । यसमा पार्टीको धारण के छ ?

यसलाई दुई–तीन कोणबाट हेर्र्नु पर्छ । पहिलो, सन् १९५० (वि.सं. २००७) देखि भारतीय शासक वर्गले नेपालको राष्ट्रिय स्वाधीनता माथि लगातार आक्रमण गर्दै आएका छन् । भारत सरकार र त्यसका जिम्मेवार निकायका प्रतिनिधिले नेपाल भ्रमण गर्दा नेपाली जनताले सहजै धारणा बनाउने र बुझ्ने कुरा हाम्रो राष्ट्रियता माथि हस्तक्षेप गर्न आएको भन्ने रहेको छ । दोश्रो, विगतका नेपालका प्रायः शासकहरुको आत्मसमर्पणवादी प्रवृत्तिका कारण भारतीय हस्तक्षेप निम्त्याउने गरे । यसले पनि नेपाली जनताले शासकहरु माथि गम्भीर राष्ट्रघातको आशंका गर्दछ । तेश्रो, अहिलेको विश्वको दुई धु्रवीय वा बहुधु्रवीय चरित्रको परिणामस्वरुप विकास भएका विश्वका अन्तरविरोधहरु सैन्य युद्ध र व्यापार युद्धको रुपमा व्यक्त भइराखेका छन ।

उपरोक्त विश्व परिवेशमा अमेरिकी रक्षा मन्त्री मार्क पम्पेरर विदेश मन्त्री माक एसपेर भारत भ्रमणमा आउनुभन्दा दुई हप्ता अगाडि ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय सेनाको जहाज प्रयोग गरेर नेपाल भ्रमणमा आउनु, प्रधानमन्त्री के.पी. ओलीसँग कार्तिक ५ गते राती ३ घण्टा भेट गर्नु र त्यसलाई प्रधानमन्त्री कार्यालयले सहस्यमय बनाउन खोज्नुले नेपाली जनतामा एउटा ठूलो जिज्ञाशा र आशंका पैदा गरायो । कुटनैतिक मर्यादा पनि नमिलेको, सरकारी नेकपा चरम आन्तरिक कलह फसेको अवस्था र गोयलले प्रधानमन्त्रीसँगको भेटमा राखेका प्रस्तावहरुको प्रकृतिलाई मध्यनजर गर्दा गोयलको भ्रमण नेपाली राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेपको दुस्साहस र ओली सरकारलाई आत्मसमर्पण गराउने उद्देश्यद्वारा अभिपे्ररित देखिन्छ । भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण उपरोक्त कडीको निरन्तरता भएको छ । यद्यपि रुप नेपाली सेनाको कार्यक्रमसँग सम्बन्धित बनाइयो । गोयल र नरवणेका भ्रमण बारेको वास्तविकता रक्षा मन्त्रीको समेत जिम्मेवारी आफैँ सम्हालेका प्रधानमन्त्री केपी ओलीले नेपाली जनतालाई स्पष्ट गर्नु पर्छ । नत्र नेपाली जनताको शंका वास्तविकतामा परिणत हुने छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

आजको गतिशील र क्रान्तिकारी दुनियाँका विरुद्ध उत्तरसाम्राज्यवाद, विश्वभरिका पुँजीपतिहरुले विज्ञानका सबै आविष्कार र विकास माथि निगमीय अधिनायकत्व कायम गरी त्यसको सर्जक श्रमिकवर्ग र आमजनसमुदायका विरुद्ध आफ्नो निहित स्वार्थ पूरा गर्ने उद्देश्यका निम्ति प्रयोगको दुस्साहस गरेझैँ पछि विकसित सूचना विज्ञान र प्रविधिका सवालमा पनि यही रबैया अबलम्बन गरिराखेको छ ।

नेपालमा त यो अफवाहवादी, झुटवादी, सेतोलाई कालो बनाउन पागलपूर्ण हर्कत गर्ने षड्यन्त्रवादी, खुफियावादी, दलाल, एकपैसे, दलाल पुँजीवादी राज्यको जुठोपुरो चाटेर देश, जनता, क्रान्ति, क्रान्तिकारीहरु, देशभक्त, लोकतन्त्रवादी र प्रगतिशील पक्षका विरुद्ध विष वमन गर्ने नकच्चरो, भतुवा चिन्तन, प्रकृति र हर्कतमा व्यक्त भएको छ । यसको चरित्र राष्ट्रघाती र जनघाती छ, जुन राष्ट्रियता, जनअधिकार, क्रान्ति, परिवर्तन र न्यायको पक्षमा बोल्ने र लेख्ने संचारकर्मी र संचार माध्यामहरुका विरुद्ध खनिएका हुन्छन् ।

यी सबै प्रकारका दमन, षड्यन्त्र र अवरोधका विरुद्ध संघर्ष गर्दै र विजय हासिल गर्दै देश, नेपाली जनता, क्रान्ति, परिवर्तन र देशको प्रगतिको पक्षमा खरो उत्रिन सफल क्षेप्यास्त्र साप्ताहिक र यसका सहसञ्चार माध्यमहरुप्रति हाम्रो पार्टी आभारसहित धन्यवाद व्यक्त गर्दछ । पार्टी पुनर्गठन दिवसको यो ऐतिहासिक अवसरमा क्षेप्यास्त्र प्रकाशन परिवारलाई पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ । आगामी दिनमा पत्रिकाको प्रगति, विकास र पक्षधरता अझ सशक्त बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्दछ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १५:३१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...