
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन निष्पक्ष नभएको बताएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिवेदन निष्पक्ष नभएको बताएका हुन् ।
‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र तिनमा आबद्ध व्यक्तिहरुको दलीय आबद्धता, तिनको स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्नँ’, उनले भने।
उनका अनुसार प्रतिवेदन पूर्णंतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । गुरुङ्गले अगाडि भने, ‘उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। प्रमाणित नभएका आधारहीन तथ्य तथ्यांक जुटाएर कुनै अनुसन्धान बिनै मनोगत धारणाबाट अभिप्रेरित छ ।’
ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनमा पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार व्यापक बढेको र उक्त भ्रष्टाचारको संरक्षण प्रधानमन्त्री ओलीले स्वंयले गरेको उल्लेख छ । प्रधानमन्त्री ओलीको नाम नै किटेर प्रतिवेदन सार्वजनिक भएसँगै निकै प्रश्नहरु उठेका छन् । जसबारे सरकारले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको हो ।