
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका नेता प्रेम दर्नालमाथि प्रहरी हिरासतमा चरम यातना दिइएको खुलासा भएको छ । पारिवारिक स्रोतले जनाएअनुसार प्रहरी हिरासतमा रहेका दर्नाललाई कुट्ने, पिट्ने, शरिरका विभिन्न भाग भाँच्ने काम निरन्तर भएको छ ।
जनाइएअनुसार उनको शरिरका सात वटा ठाउँमा फ्याक्चर भएका छन् । घाईते दर्नाललाई विभिन्न बाहानामा उपचारसमेत गर्न नदिइएको पारिवारिक स्राेतले बताउँछ ।
यसैबीच दर्नालका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा दिएकाे निवेदन पनि सुनुवाई नभएकाे गुनासो गरेका छन् । दर्नालको जीवनरक्षाको लागि गरिएको निवेदनमाथि आयोगले कुनै वास्ता नगरेको पारिवारिक स्रोतको भनाई छ ।
दर्नाल विप्लव नेतृत्वको नेकपाको केन्द्रीय आर्थिक विभागका विशेष कमिटी इन्चार्ज हुन् । प्रहरीले गत मंसिर ५ मा दर्नाल र आर्थिक विभागका सेक्रेटरी सन्जिब नेपालीलाई ललितपुरबाट पक्राउ गरेको थियो ।