
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आचरण र व्यवहार कम्युनिष्ट जस्तो नभएको टिप्पणी गरेकी छिन् । उनले बैठक नै बस्न नमान्ने शैली गम्भिर खालको भएको टिप्पणी गरिन् ।
‘एक नम्बरको अध्यक्ष हुँ भनेपछि समस्याहरुको समाधान निकाल्ने जिम्मेवारी पनि पहिलो हुन्छ’, शाक्यले भनिन्, ‘तर, ओली जि त बैठक नै बस्न नमान्ने, बैठक भइहाले पनि उपस्थित नहुने, उहाँको आचरण र व्यवहार कम्युनिष्टको जस्तो छैन ।’
शुक्रबार नेकपा निकटका युवा विद्यार्थीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैठकमा नै नआउने भए किन लिखित प्रत्युत्तर दिएको भनि प्रश्न पनि उठाईन् । ‘प्रधानमन्त्री ओलीले बैठक पेस भएको प्रस्तावमाथि छलफल नै गनुहुन्न, म बैठकमा भाग नै लिन्न भन्ने हो भने लिखित प्रत्युत्तर किन बुझाएको ?’, शाक्यको प्रश्न छ ।
शाक्यले एमाले नामको पार्टी दर्ता गर्ने काम गरेर ओलीले एकता विरोधी काम गरेको बताइन् । उनका अनुसार नेकपाभित्र देखिएको समस्याको मुख्य जड नै ओलीको शैली हो ।