विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ(एनआरएनए) ले एकवर्षमा संघले गरेका विभिन्न कामहरु बारे सार्वजनिक गरेको छ । कुमार पन्त नेतृत्वले आफ्नो कार्यकालमा गरेका कामहरुको फेहरिस्ता १३ बुँदामा उल्लेख गरेको छ ।
हेर्नुस् एनआरएनएले एक वर्षमा के के गर्यो ? :
सत्रवर्ष अघि विदेशमा रहेका नेपालीलाई गोलबद्ध गर्दै सिकेको ज्ञान, सीप र लगानीलाई स्वदेशको समृद्धिमा प्रयोग गर्ने उद्देश्यले स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ उचाइ लिएको छ।
हाल जर्मनीमा स्थापित युवा व्यवसायी कुमार पन्तको नेतृत्वमा रहेको वर्तमान कार्यसमिति संघको खस्किदो साखलाई जोगाई राख्न प्रयत्नशील छ। पन्तले गतवर्षको अक्टोबरदेखि नेतृत्व लिएसँगै संस्थामा विभिन्न सुधार भएका छन् । जसले संघप्रति विशेदमा रहेका नेपाली उत्साहित छन्। विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन लालायित अध्यक्ष पन्तको नेतृत्वमा पछिल्लो समय भइरहेका कामले संघको छविलाई पारदर्शी बनाउँदै लगेको छ।
हरेक संस्थामा आर्थिक देखि अन्य प्रशासनिक चुनौती हुने गर्छन्, हाम्रो संघमा पनि थिए र छन् पनि। तर ती चुनौतीलाई क्रमशः सम्बोधन गर्दै अध्यक्ष पन्तले संघको गरिमालाई थप उचाईमा पुर्याउनु भएको छ। कोरोना महामारीका बीच पन्तको नेतृत्वमा भएका कामले समग्र नेपाली समुदाय र नेपाल सरकारले हामीलाई गरेको विश्वास र भरोसा थप दर्विलो भएको छ। गतवर्ष काठमाडौंमा सम्पन्न नवौँ विश्व सम्मेलन एवं निर्वाचनमा घटेका घटनाबाट धमिलिएको संघको छविलाई थप विश्वासिलो बनाउन पन्तको नेतृत्वमा भएका सुधारात्मक प्रयास यस्ता छन्।
१) आर्थिक सुधार
संस्थाको आर्थिक सुधारका आवश्यकता र माग बारम्बार उठिरहने विषय भएपनि त्यस सम्बन्धमा खासै पहल हुन सकिरहेको थिएन । जसका कारण अघिल्लो वर्ष सम्पन्न महाधिवेशनमा अनुमोदन गर्नुपर्ने आर्थिक प्रतिवेदन अनुमोदन भएन। संघका मुख्य परियोजना मध्येका लाप्राक नमुना वस्ती, एनआरएनए भवन, शंखमुल पार्क लगायतमा आर्थिक अनियमिता भएको भन्दै प्रतिनिधिले सो प्रतिवेदनमाथि तीव्र असन्तुष्टि पोख्दै आर्थिक पारदर्शिताको माग समेत गरे । प्रतिवेदन समग्रमा विवादमा तानियो। तर संघको नेतृत्व सम्हालेपछि अध्यक्ष कुमार पन्तले आफ्नै नेतृत्वमा आर्थिक पारदर्शिताको माग सम्बोधन गर्न एक उच्चस्तरीय आन्तरिक आर्थिक छानवीन (डीडीए) समिति गठन गर्नुभयो। समितिले दुई महिना लगाएर तयार गरेको आर्थिक प्रतिवेदनले संघभित्र भएका आर्थिक सम्पूर्ण कामकारबाही, विवाद लगायतलाई स्पष्ट पार्यो। डीडीए रिपोटका आधारमा संघलाई आर्थिक रुपमा चुस्त र दुरुस्त पार्न संघका कोषाध्यक्ष महेश श्रेष्ठले पारदर्शी आर्थिक नीतिलाई कार्यान्वयन गर्न ठूलो भूमिका निर्वाह गर्नुभएको छ । आर्थिक नियमावली, खरिद सम्बन्धी नियमावली, संघका राष्ट्रिय समितिहरुमा लेखा समिति, संघको वार्षिक बजेट लगायतको व्यवस्था गर्दै संघ आर्थिक सुधारउन्मुख छ। संघका ठूला परियोजनाहरु सार्वजनिक टेण्डरमार्फत कामदिने प्रचलनको सुरु गरिएको छ।
२) प्रशासनिक सुधार
गैरआवासीय नेपाली संघको अन्तरिक प्रशासनलाई समेत चुस्त पार्ने अभियानमा संघको नेतृत्वले काम अघि बढाएको छ। तत्कालिन अध्यक्ष भवन भट्टको कार्यकालदेखि विवादस्पद रहेको कार्यकारी निर्देशकको विवाद अन्त्य गरी संघको सचिवालयलाई बढी प्रभावकारी बनाउन नयाँ नीतिहरु ल्याइएको छ। संघको काठमाडौस्थित सचिवालय कार्यालयमा विभिन्न परियोजनाको नाममा तलव भत्ता खाँदै आएका १ दर्जन भन्दा बढी कर्मचारीलाई अवकाश दिइएको छ। कर्मचारी नियमावली लगायतका नयाँ नीतिहरु लागू भएका छन्। कर्मचारी प्रशासन प्रभावकारी बन्दै आएको छ।
३) प्रविधिमा जोड
गैरआवासीय नेपाली संघलाई २१ औँ शताब्दी सुहाउँदो प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउने उद्देश्यले तत्कालिन अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० को आधारमा संघभित्र एमआर्ईएस सिस्टमलाई प्रभावकारी रुपमा लागू गर्ने तयारी गरिएको छ। संघका गतिविधिलाई एउटै सञ्चालनमा जोड्न विशेष एप्समार्फत सार्वजनिक गरिने भएको छ। संघको आगामी निर्वाचनलाई समेत प्रविधियुक्त बनाउनको लागि आगामी वर्ष हुने निर्वाचन अनलाइनमार्फत गर्ने तयारी गरिएको छ। संघका सचिव गौरीजोशीको संयोजकत्वमा बनेको स्मार्ट एनआरएनए परियोजनालाई तीब्रगतिमा अघि बढाइएको छ। कोरोना भाइरसको महामारीका बीच संघले क्षेत्रीय सम्मेलन, विज्ञ तथा स्वास्थ्य सम्मेलन प्रविधिमार्फत भव्य रुपमा सम्पन्न गरेको छ। संघका ती सम्मेलनलाई अन्य संघसंस्थाले समेत अनुशरण गरेका छन्।
४) कोरोना महामारीमा प्रभावकारी भूमिका
गत जनवरी देखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का विरुद्धमा गैरआवासीय नेपाली संघले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। जसका कारण संघप्रति विदेशमा बस्ने नेपालीहरु थप आशातित र उत्साहित भएका छन्। संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेर कोरोना महामारी विरुद्धको लडाँईमा होमिएको छ। संघले ल्याएका चरणबद्ध कार्यक्रमले मध्यपूर्वमा रहेका श्रमिकहरुले ठूलो राहत महसुस गरेका छन्। विश्वभरकै राष्ट्रिय समिति र संघको केन्द्रीय कार्यालयमा २४ सै घन्टा हेल्पलाइन सञ्चालन गरिएका छन्।
विदेशमा अलपत्र परेका नेपालीहरुलाई राहत र उद्दारमा ती हेल्पलाइन निकै प्रभावकारी देखिएका छन्। कोरोना पीडितको सहयोगार्थ संघले करिब २५ सय स्वयंसेवकलाई विश्वका ५० देशमा परिचालन गरेर काम गरेको छ। करिब २ लाख गैर आवासीय नेपालीहरुलाई प्रत्यक्ष राहत वितरण गरेको छ भने १ दर्जन भन्दा बढी राष्ट्रिय समितिमा आर्थिक सहयोग उपलव्ध गराएको छ। १० करोड भन्दा बढी आर्थिक सहयोग गरेको संघले नेपाल सरकारलाई समेत २ करोड भन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएर आफ्नो भूमिकालाई सक्रिय बनाएको छ।
५)एनआरएनए संयुक्त राष्ट्रसंघमा, श्रमिकको मन जित्न सफल
कोरोना भाइरसले विश्वभर आतंक मच्चाएपछि विदेशमा रहेका नेपाली समुदायमा पारेको प्रभावका बारेमा गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्रसंघ अन्तर्गतका एजेन्सीहरु समक्ष नेपालीहरुलाई परेको समस्या बारे जानकारी गराएको थियो । संघका उपाध्यक्ष डा। बद्री केसी, महासचिव डा। हेमराज शर्मा, एकनाथ खतिवडालगायतको टोलीले राष्ट्रसंघ अन्तर्गत आइएलओ, आइएमओमा वैदेशिक रोजगारमा अलपत्र परेका नेपालीको बारेका पैरवी र जानकारी गराउनु भएको थियो। फलतः आइएलओले संघलाई १० करोड रुपैयाँ आर्थिक सहयोग उपलव्ध गरायो । आइएलओको सहयोगमा संघले मध्यपूर्वमा बेखर्ची नेपालीहरुलाई आर्थिक र कानूनी सहयोग उपलव्ध गराउँदै आएको छ। मलेसिया, कतार, साउदी अबर, युएई र काठमाडौंस्थित विमानस्थल, होल्डिङ्ग सेन्टरमा वैदेशिक रोजगारीबाट फर्किनेहरुको सहयोगार्थ स्वयंसेवक परिचालन गरिएको छ। संघले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको आवाजलाई संयुक्त राष्ट्रसंघ समक्ष पहिलो पटक उठाएको थियो।
६) विश्वभर कार्यरत चिकित्सक संगठित
कोरोना भाइरसको प्रभावपछि संघले विदेशमा कार्यरत करिब २ सय चिकित्सकलाई नेपालको हितमा लगाउने उद्देश्यले महामारीका बीच परिचालन गरेको थियो। संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाको पहलमा संघले गैरआवासीय नेपाली स्वास्थ्य सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा सहभागी चिकित्सकहरुले नेपाल कसरी कोरोना भाइरस विरुद्ध लड्न सक्छ भन्ने विषयमा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपाल सरकारसँग साटे। यसका साथै संघको स्वास्थ्य समितिले नेपाल सरकारलाई स्वास्थ्य सम्वन्धी नीतिगत सुधारमा सुझाव दिने तयारी गरेको छ।
७) विज्ञहरुको साझा चौतारी बन्यो एनआरएनए
गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबरमा दोस्रो विश्वज्ञान सम्मेलन सम्पन्न भयो। सम्मेलनमा विश्वभर छरिएका नेपाली विज्ञहरु सहभागी भए। सम्मेलन विश्वका प्रतिष्ठित विश्वविद्यालयहरु अक्सफोर्ड, क्यामरिज, हाडर्वर लगायत शैक्षिक संस्थानमा कार्यरत विभिन्न विषयका विज्ञहरुले आ–आफ्नो ज्ञान र सीप नेपाल समक्ष प्रस्तुत गरेका थिए। विदेशमा कृषि, हाइड्रो, विज्ञान प्रविधि, सञ्चार, रेल लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले सम्मेलनमार्फत नेपालमा कसरी ती कुरालाई भित्र्याउन र प्रयोग गर्न सकिन्छ भन्ने बारेमा घनीभूत छलफल समेत गरे। गैरआवासीय नेपाली संघले ती विज्ञबाट प्राप्त सुझावहरुका आधारमा नेपाल सरकार समक्ष श्वेतपत्र प्रस्तुत गर्ने तयारी गरेको छ। संघका महासचिव डा। हेमराज शर्मा र अमेरिकामा कार्यरत भौतिकशास्त्री डा। हरि दाहालको संयोजकत्व र विश्वभरका नेपालीविज्ञको महत्वपूर्ण भूमिका रहेको सो सम्मेलनलाई विज्ञहरुले ज्ञानको चौतारीको संज्ञा दिएका छन्।
८) सरकार र एनआरएनए बीच सहकार्य प्रभावकारी
गैरआवासीय नेपाली संघ र नेपाल सरकार बीच भएको सहकार्य प्रभावकारी देखिएको छ। मुलतः कोरोना भाइरस ९कोभिड–१९० को प्रभावपछि विदेशमा अलपत्र परेका नेपालीको राहत र उद्दारमा संघ र सरकारबीचको सहकार्य निकै उपलव्धिपूर्ण मानिएको छ। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, विदेशस्थित नेपाली कुटनीतिक नियोग, परराष्ट्र मन्त्रालय र संघका राष्ट्रिय समिति बीच पटक–पटक भएका छलफलबाट प्राप्त सुझावलाई नेपाल सरकारले आत्मसात गर्दा अलपत्र नेपालीको कोरोना महामारीका बीच उद्दार गर्न सफल भयो। यद्यपी अझै कयौं नेपालीलाई आवश्यकता अनुसार उद्धारका लागि सरकारसँग समन्वय जारी छ।
संघको पहलमा वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगार्थ संकलित वैदेशिक रोजगार कोष मार्फत कयौँ नेपालीलाई उद्दार गरिएको थियो। मलेसिया, यूएई, साउदीअरब, कतार, साइप्रस लगायतका देशमा बेखर्ची भएर नेपाल फर्कन नसक्नेलाई संघको पहलमा निःशुल्क हवाईटिकट समेत उपलव्ध गराइएको थियो। सरकारले विदेशी राहदानी लिएका नेपालहरुलाई समेत नेपाल आगमनलाई सहज गर्ने उद्देश्यले विशेष भिसाको व्यवस्था गरिदिएको छ। यसका लागि संघले गरेको पहल महत्वपूर्ण छ।
९) प्रभावकारी सूचना संयन्त्र
गैरआवासीय नेपाली संघले आफ्ना गतिविधीहरुलाई विश्वभर छरिएका आफ्ना सदस्यहरु समक्ष पु¥याउन प्रभावकारी सूचना संयन्त्र बनाएको छ। कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विदेशमा रहेका नेपालीको स्वास्थ्य स्थितिलाई जनसमक्ष पु¥याउने उद्देश्यले हरेका हप्ता स्वास्थ्य सम्वन्धी बुलेटिन प्रकाशन गर्दै आएको छ। संघ अन्तर्गतको स्वास्थ्य समितिले तयार परेको रिपोटलाई संघको कोभिड–१९ उच्च स्तरीय समितिले नियमित प्रकाशन गर्दै आएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीको सम्पादनमा कोभिड विषेशांक प्रकाशन गरिएका छन्। यस्तै संघका क्षेत्रीय, विज्ञ र स्वास्थ्य सम्मेलनका उपलब्धीहरुलाई जनसमक्ष लैजान विशेष सञ्चार संयन्त्र परिचालन गरिएको छ। संघका सूचनाहरुलाई नेपालका मूलधारका मिडिया समक्ष लैजाने उद्देश्यले केन्द्रीकृत सूचना डेटाबेस तयार परिएको छ।
१०) नेपालमा लगानी भित्र्याउँदै गैरआवासीय नेपाली
गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेको १० अर्ब लगानी स्वदेश भित्र्याउने कार्यअघि बढाएको छ। संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा रहेको लगानी समितिले सो लगानीको लागि आवश्यक पर्ने सम्पूर्ण कानूनी प्रकृया पूरा गरिसकेको छ। कोरोना भाइरसको प्रभावका कारण अबरुद्ध लगानीको प्रकृयालाई संघले तीब्रता दिएको छ। सामूहिक तथा व्यक्तिगत लगानीको अवधारणा अनुरुप विदेशमा बस्ने नेपालीहरु कृषि, प्रविधि, भौतिक पूर्वाधार, बैकिंग लगायतका क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर लगानी भित्र्याउने तयारीमा छन्।
१२) नागरिकता र सम्पत्ती अधिकारको ग्यारेन्टी गरिने
विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता र आफ्नो सम्पत्तिका बारेमा संघले नेपाल सरकार, राजनीतिक दल लगायत संघ आफ्नो लविङलाई तीब्रता दिएको छ। संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई कार्यान्वयन गर्न र हाल संसदमा विचाराधीन नागरिकता सम्वन्धी ऐनलाई आगामी संसदमार्फत् अनुमोदन गर्न सरकार समक्ष संघले आग्रह गरेको छ।
विदेशी नागरिकता लिएका नेपालको हकहित र सम्पत्तीको ग्यारेन्टी गर्न गैरआवासीय नेपाली, सम्पत्तीको अधिकार र नागरिकता सम्वन्धी अधिकारको ग्यारेन्टी गर्न संघले नेपाल सरकार समक्ष लिखित रुपमा आफ्ना सुझाव दिएको छ। संघले संविधानमा प्राप्त उपलव्धिलाई संस्थागत गर्दै वंशजको नागरिकताको निरन्तरता र तेस्रो पुस्ताको समेत नागरिकताको ग्यारेन्टीको माग गर्ने नीति लिएको छ। संघले पूर्ण अधिकार सहितको नागरिकताको मागलाई यथावत राख्दै आएको छ।
१३) परोपकारका लागि एनआरएनए फाउन्डेसन
गैरआवासीय नेपाली संघले परोपकार सम्वन्धी कामलाई समेत प्रभावकारी रुपमा अघि बढाउने नीति लिएको छ। विदेशमा बस्ने नेपाली समुदायले नेपालमा गर्ने स–साना परोपकारी कामलाई समेत एकद्वार प्रणालीमार्फत लागू गर्ने उद्देश्यले एनआरएनए फाउन्डेशन स्थापनाको अवधारणलाई अघि बढाएको छ।
संघले कोरोना संक्रमण बीच नेपालका सबै प्रदेशमा स्वास्थ्य सम्वन्धी सामाग्री वितरण गरेर परोपकारी कामलाई तीब्रता दिएको छ। भारतबाट नेपाल फर्किने क्रममा नेपाल र भारतको सीमामा अलपत्र परेका नेपालीलाई समेत संघले उद्दार गरेको थियो।
वि.सं.२०७७ मंसिर २० शनिवार १९:३३ मा प्रकाशित






























