
२१ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते) हुँदैछ । बैंकको रजिष्टर्ड कार्यालय, थापाथली , काठमाडौंमा विहान ९ बजे सभा बोलाईएको हो । बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १० गतेदेखि साधारण सभाको मितिसम्म शेयरधनी दाखिला खारेज (बुकक्लोज) गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म बैंकको शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले २० प्रतिशत लाभांश दिन लागेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ ।