back
CTIZAN AD

नेकपाभित्रको विवादः के भन्छन् त प्रवासी नेपाली एकता मन्चका नेताहरु ?

वि.सं.२०७७ मंसिर २८ आइतवार

744 

shares

काठमाडौं । आन्तरिक विवादको कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकै गम्भिर संकटमा छ । झण्डै दुई तिहाई बहुमतसहित सत्ता चलाईरहेको नेकपाभित्र संकट देखिँदा सबै तिर निराशा छाएको छ । नेतृत्वमा देखिएको यो विवादले नेता तथा कार्यकर्ता निकै अन्यौंलमा छन् ।

संसार न्यूज अनलाईनले नेकपाभित्र देखिएको विवादबारे नेकपाका शुभचिन्तक एवं नेकपा निकटका प्रवासीबारे धारणा लिएको छ । नेकपाभित्र देखिएको संकटलाई कसरी समाधान गर्न सकिन्छ भनि प्रवासी नेपालीका प्रतिनिधिसँग लिइएको धारणा जस्ताको तस्तै :

अहिलेको अन्तरसंघर्षले विधि बसाल्ने अपेक्षा गरेका छौ

उमेश विक, अध्यक्ष, प्रवासी नेपाली एकता मंच, ओमान
उमेश विक, अध्यक्ष, प्रवासी नेपाली एकता मंच, ओमान

हामी, कम्युनिस्ट आस्था, विचार र प्रशिक्षणले उत्प्रेरित, विज्ञानको, वस्तुवादी चिन्तनलाई आत्मसात गर्दै सामाजिक सास्कृतिक, आर्थिक, शैक्षिक, नैतिकलगायत समग्र आमूल परिवर्तनको खाँतिर, हजारौं बलिदान, त्याग तपस्या, हजारौंको संघर्षपुर्ण इतिहासबाट सुसज्जित तथा निर्माण गरिएको पार्टीको कार्यकर्ता तथा सदस्य हौं । तसर्थ हरेक समस्यासँग सामना गर्न सक्ने र समाज परिवर्तनको लागि कुनैपनि मूल्य चुकाउन सक्ने अभिप्राय राख्छौ । जसको परिणाम वर्तमान लोकतान्त्रिक गणतन्त्रको कालखन्ड सम्म हामी आईपुगेका छौं । जुन आफैमा ऐतिहाँसिक र महत्वपूर्ण छ ।

देशमा नेकपाले जुन लोकतान्त्रिक गणतन्त्र हुँदै समाजबादको परिकल्पना सहितको जनताको जनवाद, मार्गनिर्देशक सिद्धान्त र कार्यदिशालाई आत्मसात गर्दै, जनताको मताधिकारको सहि सदुपयोग र गाँस, बाँस, कपास लगायत स्वास्थ शिक्षा रोजगार आदिको, कम्युनिष्ट पार्टीको सरकारबाट जनतामा प्रत्याभूति दिनुपर्ने हो, त्यो परिणाममुखी नहुनू, जनताको दैनिक जीवनसँग अनुउत्तरदायी हुनु, कोरोना कहरलगायत विभिन्न विकासको नाममा दलाली एवं भ्रष्टाचारमा सम्बन्धित नेतृत्वहरुनै मुछिनु, पार्टी तथा सरकारले गरेका हरेक क्रियाकलाप निर्णयहरु प्रति नेता÷कार्यकर्ताहरुबाट जनगुनासो बढदै जानु, राष्ट्रको सार्बभौमसत्ता र स्वतन्त्रता प्रति गम्भीर प्रश्न खडा हुनु, नेतृत्व तहबाट नै राजनीतिक प्रणाली विरुद्ध नै धावा बोल्दै जानु, पार्टीको घोषणापत्र, जनताको दिएको मेन्डेट प्रति पार्टी निर्णय र निर्देशन बिपरित सरकार संचालन तथा विभिन्न कान्डमा सरकार र पार्टी संबंधित निकाय,नेता कार्यकर्ता लिप्त हुनु, ईत्यादीको विरुद्ध सुधारात्मक आवाज÷छलफल बहसको थालनी वा सुरुवाती हुनुले नै यो स्थिती सृजना भएको मेरो बुझाई हो । र पक्कै पनि यो स्थितिले पार्टीलाई अझ बलियो,मजबुत र सशक्त संघर्षसिल,एक ढिक्का हुने गराउनेमा विस्वस्त छु ।

नेपाली राजनीतिक ईतिहाँसमै पहिलोपटक करिब दुईतिहाई जनमत नेकपा पार्टीलाई प्राप्त हुनु, चुनावी घोषणा पत्रअनुसार समाजबादको परिकल्पना सहितको नेकपाकै सरकार गठन गरिनु, आफैमा महत्वपूर्ण ऐतिहाँसिक र जनताको अधिक सहयोग सपोर्टको खाँतिर, जनआकांक्षा बिपरित ध्रुवबाट सरकारका गतिविधि संचालन हुनु नै मुख्य समस्या हुन् । सरकार संचालनको करिब तीन वर्ष बित्दै गर्दा समाजवादको आधार तयार नहुनु, गणतन्त्रात्मक कानुनी राज्यको अनुभुतिको अलवा, अध्यादेशबाट राज्य संचालन गर्न खोज्नु, सक्षमको स्थानमा असक्षम र विभिन्न आरोप तथा कान्डमा मुछिएकाहरु समावेश गरिनु, नेतृत्वकै हैसियतबाट भए गरेका पार्टी निर्णय तथा आग्रहलाई अवज्ञा गर्दै जानु, पार्टी विधि, पद्धति, नीति नियम, चुनावी घोषणापत्रको विपरीत व्यक्ति इच्छा आकांक्षा पद्धति र अनुकुलतामा नेतृत्व जानु, सरकार गठन देखि नै, जनगुसाहरुको तिव्रता सँगै, दुखी, गरिब, ज्याला, मज्दुरी गरिखाने वर्गहरुप्रति लक्षित कार्यक्रम तथा राहत सृजना गर्न नसक्नु, कोरोना कहर लगायत राज्य विकासको नाममा संस्थागत भ्रष्टाचार, महंगी, अनियमितता, बेरोजगार, मौलाउदै जानू, दलाल पुजिबादको चौघेरामा सरकार र पार्टी फस्नु, कम्युनिस्ट आन्दोलनका विभिन्न कालखण्ड सँगै दशवर्से जनयुद्ध, जनआन्दोलन तथा तराई लगायतका अन्य विभिन्न जातीय, क्षेत्रिय, वर्गीय, सास्कृतिक, शैक्षिक आन्दोलनहरुबाट हजारौंको बलिदानीपुर्ण साहदतले प्राप्त उपलब्धिहरु धरासायी तथा गुम्ने खतराको संकेत र यथास्थितिवादीहरुको जमातले गणतन्त्रप्रति धावा बोल्दै देशी विदेशी शक्तिले सरकार तथा पार्टीमा आक्रमण गर्नु, जस्ता यावत कारण नै, समाजाबादी परिकल्पना र बाटोमा आघात, गद्धारी र बाधक एवं समस्या हुन ।

समाजबादको परिकल्पना मौखिक रूपमा नेता कार्यकर्ताबाट जेजती प्रचार गरिएको छ, वस्तुगत, ब्यबहारिक,बैचारिक, राजनीतिक,सास्कृतिक, आर्थिक, शैक्षिक र सामाजिक रुपान्तरणको क्षेत्रमा सुन्यता नै देखिन्छ । यी ईत्यादि यावत समस्या र जड नै हाल हाम्रो नेकपाका केही मुख्य समस्या हुन । जस्को कारण लाखौं देश तथा विदेशमा रहेका नेता कार्यकर्ता निरास भएका छन् । पार्टीको यी सबै समस्याको समाधान समयमै हुनुपर्छ र मेरो जोडदार आग्रह पनि गर्दछु ।

पहिलो कुरा हामी नेतृत्व तहमा जुन तवरबाट चुनावी तालमेल लगायत पार्टी एकताका अंसहरुमा केही गोप्य र केही खुल्ला सहमति भए, ती विषय वस्तु बाचाकसम र सहमती, यहाँसम्म पुग्दा आफैमा केही गलत साबित भएको मेरो बुझाई छ । किनकि देखावटी रूपमा सहमति देखियो भने, मनैदेखी देश जनताप्रती त्याग तपस्या मनोबैज्ञानिक चिन्तन उत्तरदायीपुर्ण भावना अनुसार नगरिएको प्रष्ट बुझ्न सकिन्छ । केही स्थान, पद, लान्छना र हैसियतको लागि मात्र गरिएको सावित भयो । जेहोस् यहाँ सम्मको यात्रामा पार्टी एकताको लागि एकाध बाहेक नेता कार्यकर्ता सबैले आ आफ्नो स्थानबाट जुन तवर तरिकाबाट सामाजिक संजाल र मिडियाहरुमा प्रस्तुत भैराखेको देखिन्छ, लाग्छ नेकपामा कुनै विधि, बिधान, नीतिनियम, अनुशासन नै नभएको हो कि त ? भन्ने प्रश्न चिन्न्ह लाग्छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त, बैचारिक बहस, लक्ष्य उदेश्यप्रति नभै आ–आफ्नै व्यक्तिगत माईनट्राकमा नेताकार्यकर्ता छन् ।

तसर्थ पार्टी एकताको आधार,मजबुत,जिवन्त र बलियोको लागी भए गरेका सकारात्मक सहमति र निर्णयहरु तदारुकतासांत कार्यन्वयन गरिनुपर्छ । बैचारिक मार्गनिर्देशक सिद्धान्त अथवा कार्यदिशाप्रतिको बहस छलफल तथा लक्ष्य उदेश्यलाई पार्टीको सम्पत्ति र जीवनको आधार र रुपान्तरण सम्झिनुपर्छ । विधि, पद्धति तथा पार्टी बिधानलाई नेतृत्वदेखि साधारण सदस्यसम्म हुबहु कार्यान्वयन÷पालना गरिनुपर्छ । देश राजनीतिक तथा संसदीय प्रणाली अनुरुप परिचालित हुँदा पार्टी निर्णय र चुनावी घोषणापत्र मुताविक सरकार संचालन गर्नुपर्दछ ।

मार्गप्रशस्त गरेर निकास दिँदा राम्रो

रामशरण ढकाल (मदन) अध्यक्ष, प्रवासी नेपाली एकता मन्च,स्वीडेन

नेकपाको वर्तमान स्थिति अपेक्षित राम्रो छैन । नेपालमा धेरै कम्युनिस्ट पार्टी भए जनताले कुन कम्युनिष्ट हो भनेर चिन्न र बुझन गार्हो भयो भनेको अवस्थामा जन चाहना अनुसार, संसदीय व्यवस्था अंगीकार गरिसकेपछि बहुमत प्राप्त गरी समाजवाद लक्ष्य पुग्न सकिन्छ भन्ने आधारबाट एकता भयो । लक्ष्यको नजिक पुग्यो, जनताले ‘ल गर’ भनेर जिम्मेवारी पनि दियो तर जनमत लिएर कायान्वयन गर्ने ठाउंमा पुगेका नेतृत्वमा भिजन र लक्ष्य विहिनको अवस्था रहेको छ । नेकपाको सरकार यतिबेला कुहिरोमा हराएको काग जस्तो र एउटा गुटको सरकार जस्तो देखिन्छ ।

प्रधानमन्त्री शारीरिक रूपमा धेरै कमजोर र मानसिक पनि । अनुभवको धेरै कमजोरी, विश्वमा विकसित राष्ट्रले कसरी विकास गर्यो ? अनि नेपालको परिवेश अनुसार कसरी अघि बढ्ने केही सोच विचार, नैतिकता केही देखिंदैन । यदि नेतृत्वमा आँट छ भने पार्टी र देशलाई सहि दिशा निर्देश गर्न र नभए अहिलेको अवस्थामा मार्ग प्रसस्त गर्नु नै राम्रो हुन्छ ।

समस्याको कारण एकले अर्कोको अस्तित्व स्वीकार नगर्नु हो

चानक पोखरेल, अध्यक्ष, प्रवासी नेपाली एकता मन्च,कतार

नेकपाको वर्तमान समस्या भनेको नै मनको एकता नहुनु हो । बिगतका पार्टी एकताका लागी भएका सम्पूर्ण सहमतिहरु अक्षरस दुवै तर्फका नेताहरुले पालना नगर्नु पनि हो । हामीले महाधिबेशनबाट थप स्पष्ट रुपमा दुई अध्यक्षका क्षेत्राधिकार तोकेर कार्यबिभाजन गरेर देश र जनताको सेवामा अगाडी बढन सक्छौ । नेताहरुमा धैर्यता नहुनु र एकको अस्तित्व अर्कोले स्विकार नगर्नु अर्को प्रधान कारण हो ।

कम्युनिष्ट भनेकै समाजबादी भएकोले यसबाट बिचलित हुनै मिल्दैन । नेकपाको नेता तथा कार्यकर्ता झन् हुनै सक्दैनन् र हु्नुहुँदैन । अर्को कुरा नेकपाको एकताको आधार भनेको पार्टी, कार्यकर्ता र बिश्वास हो । साथै देशको समृद्घिको जिम्मेवारी नै नेकपाको एकताको आधार हो यसको बिकल्प छैन । यदि शिर्ष नेताहरुबाट जनताको मतको अपमान यसरी हुदै गयो भने अर्कोपटक बिपक्षी दल भन्दा पर पुग्न सकिने बास्तविकता अहिलेका पार्टी नेतृत्वले बुझेमा मात्र पार्टी एकता र देश समृद्धितिर जान्छ र नेकपा अझ शसक्त हुन्छ ।

वर्तमान समय भनेको कोभिड–१९ लाई परास्त गर्ने हो तर यो बिषय र बिचमा सरकार बारम्बार चुक्दै अलोकप्रिय बन्दै गएको हामीलाई लागेको छ । सचिवालयका कतिपय कमरेडहरुको रवैयाले गर्दा सरकार झन बिवादित बनेको देखिन्छ ।

राष्ट्र र पार्टीको बारेमा सोचेर गम्भीर रूपमा बहस गर्न जरुरी छ

राजेन्द्र पुडासैनी, अध्यक्ष, प्रवासी नेपाली एकता मन्च बेलायत

नेकपा र यसको सरकारले जनताको अपार विश्वासलाई कुर्सीको लडाईको कारणले छाँयामा पारेको छ । नेकपा विधी, प्रकृया र पद्धती संगत ढंगले चल्न सकेन । सचिवालयका नेताहरूको अकर्मण्यताले पार्टी पद्धतिलाई नै ध्वस्त पारेको देखिन्छ । हाल नेकपा बिभिन्न आसंका र निरासाका बिचमा गुज्रीरहेको छ । झिनामसिना, खु्द्रा कुराहरूमा अल्झिदा करीब ८ लाख पार्टी सदस्यहरू निरास भएका छन् ।

नेकपाको मुख्य समस्या भनेको बिबादहरूको जड पत्ता लगाएर यसलाई समाधान गर्ने कुरामा छलफल नहुनु नै हो । पार्टी, संगठन र यसका सदस्यहरूले के काम गर्ने भनेर छलफल भएको छैन । पार्टीले सर्वसम्मत किटान गरेको दलाल पुँजीबादलाई नियन्त्रण गर्दै, राष्ट्रिय पूँजीको बिकास गरेर समाजबादको तयारी गर्ने कार्यभार बोक्ने गरी संगठन निर्माण गर्न नसक्नु नै प्रमुख समस्या हो ।

राष्ट्र र पार्टीको बारेमा सोचेर गम्भीर रूपमा बहस गर्ने हो भने झण्डै २ तिहाईको म्याण्डेट बोकेको नेकपाको एकताको आधार खोज्न गाह्रो हुदैन । पार्टीले अंगीकार गरेको कार्यदिशालाई बोक्न सक्ने संगठन बनाई संगठनलाई बिधी, नीति र पद्धती अनुसार चलाउनु नै एकताको आधार हो । जनमत पनि एकताको आधार हो । अमुक नेताहरूको अकुत पैसा कमाई र कार्यकर्ताहरूलाई चाकर बनाउने बाटो बिघनको बाटो हो ।

पार्टी निर्णय र कमिटीभन्दा माथि म छु भन्ने छुट कसैलाई छैन

शुरेस गौतम, सचिव, प्रवासी नेपाली एकता मन्च बेलायत

वर्तमान अवस्था नेपाली जनता, पार्टी कार्यकर्ता र शुभेच्छुक कसैलाई पनि चित्त नबुझेको चिन्तित अवस्था हो । रेल, पानी जहाज, घर–घरमा ग्यासको पाईपलाइन, हावाबाट बिजुली, सुशासन, भ्रष्टाचार नियन्त्रण सार्वभौमिकताको रक्षा आदि जनताका अपेक्षा तथा सरकार र पार्टीले जनतामाझ गरेका आश्वासन र बाचा हुन् । तर दुःख साथ भन्नुपर्छ यी कुनै पनि बाचा र आश्वासन पूरा हुन सकेनन् । लाग्छ सरकार ओम्नी र यतीकै पछि मात्र दौडिरहेको छ ।

कम्युनिष्ट पार्टी भित्रका समस्याहरू पार्टीका नियमित बैठकबाटै सुल्झिने गर्छन तर, अहिले त बैठक नै नबसाउने, निर्णय नै मान्दिन भन्दै आफूहरूले नै बनाएको स्थायी समिति केन्द्रीय समितिलाई नै रत्यौली लगायत नानाभाँती अर्थ्याउने अभिव्यक्ति नीति संगत कसरी हुन सक्लान ? सरकारको राम्रो कामले पार्टीको मनोबल उच्च बनाउंछ भने गलत वा नराम्रो कामले सम्पुर्ण पार्टीलाई डुवाउन मद्दत गर्छ । समुच्च वर्तमान परिस्थिति कुनै पनि अवस्थामा पार्टी कार्यकर्ता, शुभचिंतक र जनताको अनुकुल छैन ।

समाजवाद स्थापनाको लक्ष्य एकिकरण पछिको मूल नारा हो । यसैसंग सम्बन्धित रहेर निर्वाचन घोषणापत्र पनि बनेको हो जस्लाई नेपाली जनताले बहुमत दिएर विजयी पनि बनाएको छर्लंग छ । सरकारबाट ठूला–ठूला कामको जनताले तत्काल आशा गरेका पनि छैनन् होला तर, समाजवाद उन्मुख न्यूनतम कार्यक्रम र प्रतिफलको आशा पक्कै गरेको हो । सुशासनको गफ दिएर भ्रष्टाचारलाई प्रोत्साहन गर्दा समाजवाद त के बुर्जुवा पुँजीबादमा पनि पुगिदैन ।

एकताको आधार पालना नै गर्ने हो, सहज छ यो त्यति गाह्रो विषय नै होईन । तर, यसैलाई यति कम्प्लिकेटेड बनाईंदैछ कि एकता नै संभव छैन जसरी प्रस्तुती भईरहेका छन् । वर्तमान अवस्थाले नेतृत्वदेखी कार्यकर्ता सम्मलाई थप सुधारको बाटोमा पनि लैजान र सच्चिन मद्धतगार हुन सक्छ । खाँचों छ त शिर्ष नेतृत्व देखी कार्यकर्तासम्म पार्टीको नीति, विधी र विधानमा रहेर दीगो र जनमुखी कामको थालनी नै एकता को आधार बनाईनुपर्छ । पार्टी निर्णय र कमिटीहरू भन्दा माथि म छु भन्ने छुट कसैलाई हुनुहुदैन । आशा छ आऊदो स्थायी समिती र केन्द्रीय समितीको बैठकले यसैमा आधारित निर्णय गर्दै सबैमा लागु गराउन निर्देशन गर्ने छ ।

 

 

सहमति नहुने हो भने विधानअनुसार बहुमतबाट अघि बढनुपर्छ

केशव ठकुरी, सचिव, प्रवासी नेपाली एकता मंच, साइप्रस
केशव ठकुरी, सचिव, प्रवासी नेपाली एकता मंच, साइप्रस

नेकपाको वर्तमान स्थितिले पार्टी, सरकार र देशलाई नै अन्योलमा पारेको छ । नेकपाको आन्तरिक बिवादले पार्टी र सरकारलाई कमजोर बनाउनुको साथै ठूलो क्रान्ति गरि हजारौंको बलिदानबाट ल्याएको वर्तमान ब्यवस्था (लोकतान्त्रिक गणतान्त्रिक संविधान) माथि नै खतरा आइपरेको छ । नेकपा भित्रको विवादको मौकाको फाइदा उठाइ दक्षिणपन्थी तथा पुरानो सामान्ती ब्यवस्थाको वकालत गर्ने मण्डले राजावादिहरु सल्बलाउन थालेका छन् । यतिबेला गणतन्त्रबादीहरुले गणतन्त्रको रक्षाको लागि सतर्क हुन अति नै आवस्यक छ ।

नेकपाको मुख्य समस्या भनेको पार्टी बिधि र पद्धतीमा चल्न नसक्नु र नेपाली जनताको आशा भरोसाको केन्द्र बनेको नेकपा पार्टीभित्र उब्जिएको विवादपनि प्रमुख समस्या हो । पार्टी र पार्टी अन्र्तगतका जनवर्गीय संगठनहरुमा कम्युनिज्म स्कुलिङ हुन नसक्नु पनि समस्या हो । पार्टीले जनतासामु जुन घोषणापत्र लिएर गएको थियो, त्यो अनुसार काम गर्न नसक्नु र अघि बढनु नसक्नु पनि समस्या हुन् ।

नेकपाको एकताको मुख्य आधार पार्टी नेतृत्व बिधि बिधान र पद्धतिमा चल्नुपर्छ । पार्टी सचिवालय, स्थायी समिती तथा केन्द्रीय समितिको बहुमतले गरेको निर्णय नेतृत्वतहले पालना गरे पार्टी एकढिक्का भएर अघि बढनेमा कुनै शंका छैन ।

नेतृत्वले गम्भीर समिक्षा गर्न र बहस चलाउन जरुरी छ

शुकमान लामा, अध्यक्ष, प्रवासी नेपाली एकता मंच, आयरल्याण्ड
शुकमान लामा, अध्यक्ष, प्रवासी नेपाली एकता मंच, आयरल्याण्ड

अहिले नेकपाको केन्द्रीय नेतृत्वतहमा जुन किसिमको रस्साकस्सी देखिएको छ त्यसले न पार्र्टीको हित गर्छ न त देशको नै । पार्टी एकता भएको ४ वर्ष पुग्दा पनि पनि उही पूर्वअस्तित्वकै भरमा समग्र देश जनता र सिङ्गो पार्टी प्रति बफादार होईन गुट उपगुटमा नेतृत्वहरु रमाई रहेको देखिन्छ । दुई तिहाईको सरकार र देशको सबैभन्दा ठूलो पार्टीको दिशाहीनतामा आ–आफ्नै डम्फु बजाईरहनु भन्दा ठोस रूपमा नेकपाको दिशा निर्देशन हुनेगरि समग्र नेकपा पार्टीको, देश र जनताको पक्षमा छलफल चलाउनु, चिन्ता प्रकट गर्नु अनि सबैको समझदारी र सहमतिमा पार्टी र देशलाई सम्वृद्धि तथा विकास तिर लैजानु उपर्युक्त देखिन्छ ।

एउटै पार्टीका नेताहरूमध्ये कोही कसैको पछि लाग्नु व्यत्तव्य बाजी गर्नु भन्दा पनि कम्युनिस्ट पार्टीको विधी विधानमा र पार्टी सञ्चालनको मूल्य मान्यता अनुसार सवै नेता कार्यकर्ता समर्थक अगाडि बढ्न सकेका छन कि छैनन् बिनापूर्वआग्रह निष्पक्षरूपमा समिक्षा गर्न जरुरी छ । देश र जनताको पक्षमा, ठूलो कुर्बानीबाट ल्याएको व्यवस्थाको रक्षाको खातिर कहाँ कहाँ चुक्यौ भनेर पार्टी नेतृत्वले गम्भीर समिक्षा गर्न र बहस चलाउन जरुरी छ ।

दुवै अध्यक्षको प्रतिवेदनमा छलफल चलाएर फेरि नयाँ सिराबाट सहमति गर्नुपर्छ

हवल चन्द्र लामा, अध्यक्ष, प्रवासी नेपाली एकता मन्च,जापान

नेपालको इतिहासमा दुइ धारका ठूला दुइ कम्युनिस्ट पार्टी एक भएर चुनाब लडेर अन्तमा पार्टी एकता नै भएकोमा सारा कार्यकर्ता, आम नेपाली उत्साहित भएका थिए तर अहिले आएर यो संकट र्सिजना हुनु नेकपालाइ मात्र नभै नेपाल र नेपालीको लागि नै दुर्भाग्यपूर्ण स्थिति हो ।

अहिलेको मुख्य समस्या बाहिरी रुपमा हेर्दा पद र शक्तीको देखीएपनि पार्टी कसरी बिधी र प्रक्रिया तथा एकताका बेला गरिएका सहमतिलाई अक्षरस पालना गरेर चल्ने भन्नेमा नै हो । दुबै अध्यक्षको प्रतिबेदन उपर छलफल चलाएर फेरि नयाँ सिराबाट सहमति गरेर अगाडी बढ्न पर्छ भन्ने लाग्छ । आवश्यक भएमा दुइ अघ्यक्ष र सचिवालय सदस्यहरुले त्याग गर्न पनि पछि हट्न हुन्न ।

अध्यक्ष ओलीले दम्भ छोडेर एक व्यक्ति एक पदमा मान्नु पर्छ

हरिभक्त कराखेती, सचिव, प्रवासी नेपाली एकता मंच, इटाली
हरिभक्त कराखेती, सचिव, प्रवासी नेपाली एकता मंच, इटाली

नेकपाको पार्टी एकता एकअर्काको सम्मान र समानताका आधारमा गरिएको एकता हो । तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का बीचको एकता, एकअर्कोका राजनैतिक कार्यदिशामा विलय वा कोही कसैमा पार्टी प्रवेशका रुपमा भएको होइन ।

प्रधानमन्त्री तथा अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा सचिवालयको बैठकद्वारा समस्या समाधान गर्नतिर लागेका भए राम्रो हुनेथियो तर उहाँमा एक प्रकारको ठूलो घमण्ड छ प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव जितेर आउनुभएको जस्तो । उहांले दम्भ छोडेर बैठकको निर्णय मान्दै सहमति गरेर मात्रै अगाडि बढ्नुपर्ने हुन्छ ।

कामरेड प्रचण्डले लिखित रूपमा जून त्यागको आग्रह गर्नुभएको छ त्यो जायज कुरा हो । ‘एक व्यक्ति–एक जिम्मेवारी’ हुनुपर्छ, एक व्यक्ति एक पदको अवधारणा बिपरित सरकार चलाउनेले पार्टी पनि एकलौटी चलाउछु भनेर खोज्दा सबैतिर बिग्रिएको हो ।

नेपालको वर्तमान संविधानमा व्यवस्था गरिएको मौलिक हकहरू सबै नागरिकलाई बराबर रूपमा लागूहुनेगरी संविधानले निर्देश गरेको छ । जनतालाई अन्तराष्ट्रिय रुपमा स्वीकार गरिएका लोकतान्त्रिक अधिकार सुनिश्चित गर्दै सवैलाई शिक्षा, स्वास्थ्य, रोजगारी, श्रम, खाद्य, आवासलगायतका हक प्रत्याभूत गरिएको छ । आर्थिक रुपमा कमजोर वर्गले समेत कम्तिमा पनि न्यूनतम गुणस्तरको गाँस, बास, कपास, आवास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सहजै पुरा गर्न सक्ने व्यवस्था रहेको राज्य मात्र समाजवाद उन्मूख राज्य हो । वर्गीय विभेद, धनी र गरिबबीचको विभेद, धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेद छन् । यी विभेद नभएको समाज बनाउनुपर्छ र यो अवस्थालाई समाजवाद भन्ने हो । तर यो सरकारले बाटो बिराउदै हिडेको कारणले भ्रष्टाचार झन् मौलाउदै गएको छ ।

प्रधानमन्त्रीले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ । मुल समस्याको समाधान भनेकै विधि र पद्धतिमा सरकार चलाउने हो । सरकारले जनभावना अनुरुप पार्टीको घोषणापत्रलाई आत्मसात गर्दै हिँड्ने हो भने सबै समस्याहरु विस्तारै समाधान हुँदै जान्छन् ।

पार्टी एकीकरणका क्रममा भएका सहमतिको आधारमा टेकेर थप नयाँ सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउनेतर्फ अगाडि बढ्नु पर्दछ । नेतृत्वले आत्मआलोचना गर्दै एक व्यक्ति–एक जिम्मेवारीको अवधारणा अनुरुप पार्टीलाई विधि र पद्धतिमा संचालन गर्न विगतका कमि कमजोरीहरुलाई सच्याएर पार्टीलाई आगामी दिनमा कसरी विवादमुक्त बनाउने र निकट भविष्यमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु नै एकताको मुख्य आधार हुनसक्छ ।

हतारमा फूटलाई प्रश्रय दिने अभिव्यक्तिहरू नदिऔं

अशोक किरण न्यौपाने सचिव, स्पेन प्रवासी नेपाली एकता मंच, स्पेन
अशोक किरण न्यौपाने सचिव, स्पेन प्रवासी नेपाली एकता मंच, स्पेन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालकै ठूलो राजनीतिक पार्टी, जस्को नेतृत्वमा सरकार छ । उस्को अहिलेको राजनीतिक अवस्था बारे सम्पूर्ण नेपाली जनमानसले चासोको रूपमा लिनु स्वभाविक हो र लिनु पनि पर्छ । हिजो जनताले निकै आशासहित झण्डै दुई तिहाई मत दिएर पठाएको नेपालकै ठूलो राजनीतिक दल, जो फरक विचार एवम् पृष्ठभूमिबाट आएका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता भै निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बेला बखत केही राजनीतिक समस्या आउनुलाई जसरी सामाजिक संजालमा प्रचार गरिएको छ, त्यस्तो चाहीं पक्कै हैन । भलै राजनीतिक बहस चाहीं अलि बढी नै भैरहेको छ, त्यसलाई नेपाली जनता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आम कार्यकर्ताले मिल्नुको विकल्प बाहेक अन्य कुनै बाटो नभएको बताउदै आईरहेका छन् ।

फरक फरक बिचारबाट आएका जो कोहीमा पनि सामान्य बहस त भई नै रहन्छ । त्यसमा पनि राजनीतिक दल जो हिजो वर्ग संघर्ष तथा विभिन्न उतार–चढावबाट स्थापित राजनीतिक दलमा बहस हुन जरुरी छ र हुनु पर्छ तर जुन बहस अहिले बहसमा मात्रै सीमित नभई सामाजिक संजाल तथा विभिन्न कार्यक्रममा समेत आरोप प्रत्यारोपको रूपमा अगाडी बढेको छ, त्यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को त भलो हुँदैन नै, नेपालले लामो समयपछि प्राप्त गरेको राजनैतिक स्थिरता समेत गुम्ने तथा नेपालको विकास तथा सम्वृद्धिको सुनौलो सपना सपनामै सिमीत हुने र अर्को स्थायी सरकार प्राप्त गर्न अर्को संघर्ष गर्नु पर्ने छ । त्यो नेपाली जनतालाई मान्य नहुने हुँदा नेकपा मिल्नुको विकल्प नरहेको जानकारी गराउन चाहन्छु ।

नेकपा बन्नु अगाडीका पूर्व पार्टीहरूको मूल निष्कर्ष के हो भने नेपालमा करिब करिब नयाँ जनवादी क्रान्ति मूलभूत रूपले सम्पन्न भएको छ र क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्दै समाजवाद स्थापना गर्न अझ उन्नत र अझ बलियो एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता छ । एकताको यो मूलभूत उद्धेश्यमा ईमानदार नबनीकन हामीले गन्तव्य चुम्ने छैनौ ।

समाजवादलाई केन्द्रमा राखेर तदनुरूपको राजनैतिक एवम् वैचारिक कार्यदिशा तय गर्नु, तदनुसार नै संगठन निर्माण र विकास गर्नु र सरकारको नेतृत्व गर्दै गर्दा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने हेतुले ठोस ढंगले कार्य सम्पादन गर्नु अहिलेको कार्यभार हो ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समस्या (राजनीतिक बहस) मूल नेतृत्व मै देखिएको छ र नेतृत्वले नै यसलाई समाधान गर्नुपर्छ । यस समस्याको सम्पूर्ण नेपाली जनता तथा नेकपाका कार्यकर्ताबाट ठूलो विरोध भैरहेको तथा विभिन्न तवरबाट मिल्नुको विकल्प नभएको बारे नेतृत्व समक्ष ध्यानाकर्षण गराई रहेका छन् । मूल समस्या भनेको अहिले दुवै अध्यक्षहरू जुन तवरले प्रस्तूत् भैरहनु भएको छ, त्यो पार्टीको भविश्यका लागि घातक छ । अहिले उहाँहरु निकट नेताहरूले जुन तरीकाले विभिन्न संचारका माध्यमहरूमा समस्यालाई बढावा दिने खालका अभिव्यक्तिहरू दिइरहनु भएको छ, त्यो सरासर गलत छ । त्यस्ता खालका अभिव्यक्तिहरूले हामी पार्टीका कार्यकर्ताहरूमा फूट सिर्जना गर्ने तथा भरखर एकता भैरहेका बिभिन्न पार्टीको संरचनामा ठूलो असर पर्ने तथा दूरी बढ्ने हुन्छ । त्यसकारण यस्ता खालका पार्टीमा असर पर्ने अभिव्यक्तिहरू नेतृत्व तथा उहाँहरु निकट नेताहरूले नबोल्दिन विनम्र अनुरोध गर्दछु । यस्ता खालका अभिव्यक्तिहरू समाजिक संजाल तथा केही आफ्नो स्वार्थका पछाडी दौडीरहेका कार्यकर्ताबाट वाही वाही पाए पनि त्यस्ता खालका अभिव्यक्तीले जो पार्टीलाई सधैं सच्चाईको बाटोमा लैजान ईमान्दार रूपमा आफ्नो स्तरबाट पार्टीको काम गरीरहेका कार्यकर्ताहरु छन् । उनीहरूलाई चाहीं अवश्य ठेस लाग्नेछ । यस्को नतिजाले पार्टीलाई अवश्य पनि राम्रो नहुने सबैलाई अवगत नै छ । यस कारण केही राजनीतिक बहस भैरहेको बेला हतारमा फूटलाई प्रश्रय दिने अभिव्यक्तिहरू नदिन पुनः सम्पूर्ण नेताहरूलाई अनुरोध गर्दछु ।

नेपाली समाजवाद अन्तराष्ट्रिय मोडेलहरूको अंधानुकरण नभै हाम्रै विशिष्टता अनुसारको मौलिक हुनेछ भनेर हामीले स्पष्ट गरेका छौं । त्यसो भएपछि हामीसँग समाजवाद स्थापनाको लागि आवश्यक पर्ने महत्वपूर्ण औजार ‘सरकारी मोर्चा’ हाम्रै नेतृत्वमा रहेको यो विशिष्ट परिवेशमा नेतृत्वले बुद्धिमत्तापूर्ण तरिकाले अब कार्यान्वयनको दिशामा लाग्नु पर्ने होईन र ? कतै हामीले त्यो औजारलाई तीन–तीन वर्षसम्म खिया लाग्ने गरी बिना प्रयोग त राखेनौं ?

देशैभरीका करिब आठलाख पार्टी सदस्य तथा करोडौं समर्थक शुभचिन्तक हरूले गर्व गर्न लायक पार्टी बनाउनु र कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले समाजवाद निर्माणलाई मुख्य ध्येय बनाएर शत प्रतिशत कार्य सम्पादन दिन अब ढिला गरिनु हुन्न । इतिहासमा अवसर बिरलै आऊने गर्छन । अहिले हामीलाई र हाम्रो पार्टीलाई यो अपूर्व अवसर प्राप्त छ । के हामीले यो असाधारण र अपूर्व अवसरलाई सही ढंगले उपयोग गरेका छौं त ? समीक्षा गर्नु पर्ने बेला भएको छ ।

पार्टीको सन्दर्भमा हाम्रो पार्टी कम्युनिष्ट पार्टी भएकोले लेनिनवादी संगठनात्मक शिद्धान्त अनुशरण गर्दै पार्टी चलाउनु पर्छ । लेनिनवादी विधी र पद्धति भनेको ‘छलफलमा स्वतंत्रता तर कामकारवाहीमा एकरूपता,बहुमतको निर्णय लागु गर्ने तर अल्पमतको विचारलाई पार्टीको वैचारिक सम्पतिको रूपमा संरक्षण गर्ने ।’

व्यक्ति पार्टीको मातहत रहने, तल्ला कमिटी माथिल्ला कमिटी मातहत रहने, सबै कमिटीहरू केन्द्रीय कमिटी मातहत रहने र केन्द्रीय कमिटी महाधिवेशनप्रति उत्तरदायी रहने हो भने नेकपाको एकता यथावत रहनेछ र नेपाललाई समाजवाद उन्मुख, समुन्नत राष्ट्रको रूपमा संसारमै परिचित गराउन सकिनेछ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:२९ मा प्रकाशित