
पुस १, काठमाडाैं। सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि छलफल सुरु भएको छ । स्थायी समिति बैठकका एजेण्डाबारे कुरा नमिलेपछि दुई अध्यक्षबीच पुनः छलफल भएको हो ।
पछिल्लो छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् ।
यसअघि दुई अध्यक्षबीच भएको छलफलमा कुरा मिल्न सकेको थिएन । ‘वान टु वान’ छलफल निष्कर्ष बिहिन बनेसँगै केहि नेताहरु विशेष अधिवेशनको माग गर्दै शितल निवास पुगेका थिए ।
नेताहरु शितल निवास पुगेसँगै दुई अध्यक्षबीच भएको फोन संवादपछि पुनः प्रत्यक्ष छलफल सुरु भएको हो ।
पार्टीका एक स्थायी समिति सदस्यका अनुसार छलफलमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने माग राखिरहेका छन् भने प्रचण्डले अध्यादेश फिर्ता लिनुपर्ने माग राखिरहेका छन् । दुवैले आ–आफ्नो अडान नछाडेको कारण सहमती बन्न नसकेको हो ।
सहमती बन्न नसकेसँगै पूर्वनिर्धारित स्थायी कमिटी बैठक बस्ने नबस्ने अनिश्चित बन्दै गएको छ । स्थायी कमिटीका अधिकांश सदस्य हाल प्रधानमन्त्री निवास बालुवाटारमा अन्यौंलमा बसिरहेका छन् ।