२ पुष, दाङ । मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना पक्राउ परेका छन् ।
मालपोत कार्यालय दाङका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजहरु गिरी र गैरेलाई सेवाग्राहीबाट ३ लाख २० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा अधिकृत खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका गिरी र कार्यालय सहयोगी गैरेले मिलेमतो गरी खड्का, अधिकारी, गिरीको योजनाबमोजिम निजहरुले भनेअनुसार कार्यालय सहयोगी गैरेले घुस बुझिलिएको पुष्टि हुन आएकोले निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।