पुस १०, काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलले आफ्नो समुह छोडेको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक प्रतिक्रिया दिएका छन् । शुक्रबार कार्की ब्यांकेटमा आयोजना भएको पत्रकार सम्मेलनमा उनले बादल झुक्किएर उता गएको प्रतिक्रिया दिए ।
‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ प्रचण्डले भने ‘झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’
पार्टी विभाजन यता दुवै समुहको भेला तथा बैठकमा नगएका बादलले दुवै समुहसँग निरन्तर छलफल गरिरहेका थिए । तर, उनी बिहिबार ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा गएर आफ्नो कित्ता ओली तर्फ रहेको स्पष्ट पारेका थिए ।
ओली पक्षमा गएका बादल निकटका नेताहरु भने प्रचण्ड–नेपाल समुहमै आएका छन् ।
वि.सं.२०७७ पुस १० शुक्रवार १५:४२ मा प्रकाशित






























