पुस १०, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका दुवै (पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल)को हैसियत बराबर रहेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो बताएका हुन् ।
‘केन्द्रीय समितिले माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाएको हो, अध्यक्षभन्दा माथि सिनियर हुनेकी जुनियर ?’, खनालले भने, ‘तपाईँ कामले, आदि इत्यादिले अनेक ढंगले सिनियर हुनुहोला तर, अध्यक्ष पद नै त्यस्तो पद हो जो आफैं सिनियर हुन्छ, उहाँहरु दुई जना बराबरी हो ।’
प्रचण्ड–नेपाल समुहको केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, निर्णयपश्चात भने प्रचण्ड र नेपाल को सिनियर भन्दै प्रश्न उब्जिरहेको बेला खनालले यसबारे प्रष्ट पारेका हुन् ।
वि.सं.२०७७ पुस १० शुक्रवार १६:२४ मा प्रकाशित





























