back
CTIZAN AD

करोडको लागतमा कृषि फार्म निर्माण

वि.सं.२०७७ पुस १३ सोमवार

654 

shares

१३ पुष, बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन ।

अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे—उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ ।

नाताले साला÷भेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याएका हुन् । झण्डै रु एक करोडको लागतमा अहिले फार्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ । “आउँदो माघ अन्तिमसम्ममा फार्म सञ्चालनमा आउँछ”, खत्रीले भने, “संरचना निर्माणको काम अन्तिम चरणमा छ ।”

गलकोट नगरपालिकाको केन्द्र वडा नं ६ स्थित मजुवाँफाटको २४ रोपनी जग्गा फार्मले ओगटेको छ । फार्ममा तरकारी खेती, माछा, बङ्गुरलगायत विभिन्न प्रजातिका कुखुरा र पन्छीपालन गर्ने योजना छ । तरकारी खेतीका लागि छ वटा टनेल र माछापालनका लागि पाँच वटा पोखरी निर्माण भइसकेका छन् ।

यस्तै २०० बङ्गुर, एक हजार गिरीराज र कोइलर, ५०० स्थानीय जातका कुखुरापालन गर्ने गरी संरचना निर्माणको काम भइरहेको छ । पाँच सय बट्टाइ, १०० लौकाट र हाँस पनि पाल्ने योजना छ । गिरीराज र कोइलर जातको कुखुरा चल्ला उत्पादन र बिक्रीका लागि पाल्न लागिएको हो ।

“पाँच हजार अण्डा राख्ने क्षमताको ह्याचरी राख्दैछौँ, गाउँमा थोरै मात्रामा कुखुरापालन गरिरहेका किसानलाई पनि चल्ला उत्पादनका लागि ह्याचरीको सुविधा दिन्छौँ”, ५६ वर्षीय थापाले भने । उनले अर्को वर्षसम्ममा रेष्टुराँ र पौडी पोखरीसहितको पार्टी प्यालेस पनि सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।

आवासका लागि तीन कोठेसहित फार्मको कार्यालय भवनसमेत बनिसकेको छ । चौबीस रोपनीमध्ये साढे सात रोपनी फार्मकै नाममा जग्गा रहेको र बाँकी वार्षिक रु डेढ लाख तिर्ने गरी भाडामा लिइएको खत्रीले बताए ।

“चार÷पाँच वर्षदेखि नयाँ केही गरौँ भन्ने सोच आइरहेको थियो, अन्य विकल्पमा पनि प्रयास गरियो”, ३९ वर्षीय खत्रीले भने, “पछि कृषितिर मन गयो, गत चैतमै फार्म शुरु गर्ने योजना थियो, लकडाउनले गर्दा पछाडि धकेलियो ।” उनले फार्म पूर्णरुपमा सञ्चालनमा आउँदा १० देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।

फार्ममा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनका लागि बजारको कुनै समस्या नहुने उनको भनाइ छ । गलकोट र आसपासकै बजार र ग्रामीण भेगमै उत्पादन खपत हुने फार्म सञ्चालकको विश्वास छ । नजिकै पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत अन्य सडकको पहुँच भएकाले ढुवानी गर्न सहज छ ।

दरमखोलाको सिञ्चित क्षेत्र भएकाले मजुवाफाँटमा पानीको बाह्रैमास सुविधा छ । पछिल्लो समय जिल्लामा व्यावसायिक कृषि र पशुपन्छीपालनतर्फ आकर्षण बढ्दो छ ।
रासस

वि.सं.२०७७ पुस १३ सोमवार १०:३९ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...