पुस १४, काठमाडौं । नेपालको राजनीतिक मामलामा प्रायः मुख नखोल्ने चीनले पछिल्लो घटनाक्रममा भने आफ्नाे चाँसो खुलेर बताएको छ । दक्षिणी छिमेकी मुलुक भारतले चीनले मिलाउन खोज्दा पनि नेकपा फट्यो भन्ने अभिव्यक्ति दिएका केहि दिनमा चीनले यसबारे बोलेको हाे।
भारतले नेपाल सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधी चुनावको मिति घोषणा गरे लगत्तै नेपालको राजनीतिक घटनाक्रम ‘नोट गरिएको छ’ भन्ने अभिव्यक्ति दिएको थियो भने नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले ‘चीनले मिलाउन खोज्दा पनि नेकपा फट्यो’ भन्ने अभिव्यक्ति दिएका थिए । नेपालको राजनीतिक गतिविधिमा प्रायः प्रतिक्रिया नजनाउने चीनले पनि यस विषयमा मुख खोलेको हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको थियाे ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र ‘विग पिक्चर’लाई ध्यानमा राख्नेछन्, आपसी भिन्नताहरु राम्रोसँग ब्यवस्थापन गर्नेछन् र राजनीतिक स्थिरता र राष्ट्रिय विकासप्रति प्रतिवद्ध हुनेछन् ।’
प्रधानमन्त्री ओलीको संसद भंग र निर्वाचनमा जाने निर्णयप्रति चीनले दिएको यो प्रतिकृया पहिलो हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न चीनको एक उच्चस्तरीय टोली यतिवेला काठमाडौंमै छ ।
के चाहन्छ चीन ?
चीनले तत्काल पार्टी फुट्नु नहुने र मिल्न सक्ने छ भने मिलेर जाने कुरामा मध्यमार्गी उपायका साथ एकतामा जोड दिइरहेको नेकपा निकट स्रोतको भनाई छ । राजनीतिक उल्झनमा अल्झियो भने विकास गतिमा फड्को मार्न सकिन्न, एकता नै विकासको गति भएकाले नेकपाका शीर्ष नेताहरुसँग एकताका सम्भावनाहरुमा उच्चस्तरीय टोलीको ध्यान केन्द्रीत रहेको बुझिएको छ ।
चीन यतिवेला अन्तिम कसरतमा छ । नेपाल आएको उच्चस्तरीय प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त छ । आइतबार आएको टोली बुघबार स्वदेश फर्कँदै छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक भेटवार्ता जारी राखेको छ ।
चिनियाँ टोलीले नेता माधब नेपाल तथा पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो ।
चार दिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका लागि पहल गर्दै चिनियाँ सरोकार राखिरहेको छ ।
निकै गाेप्य छन् भेटवार्ता
प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रम भने गोप्य राखिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली चार दिने नेपाल भ्रमणमा छ । चिनियाँ प्रतिनिधिमण्डलाई उनीहरूकै चाहना बमोजिम ओहदा अनुसारको स्कर्टिङ र अंगरक्षकसमेत उपलब्ध गराइएको छैन ।
प्रोटोकलसहितको सुरक्षा दूतावास स्वयंले व्यवस्था गरेको छ । उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने व्यक्ति मानिन्छ ।
येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता नेपाल आएका थिए । उनको यो भ्रमण नेकपा एकता कायम राख्न केन्द्रीत भएको मान्न सकिन्छ ।
वि.सं.२०७७ पुस १४ मंगलवार १३:४७ मा प्रकाशित





























