१४ पुष, काठमाडौं । आज मंगलबारदेखि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अनलाईनमार्फत् संसारको जुनसुकै कुनामा बसेर लिन सकिने व्यवस्था सुरु भएको छ ।
वैदेशिक रोजगार विभागले आजदेखि सो व्यवस्था लागू गरी ‘अनलाईनमार्फत् पुनः श्रम स्वीकृति सुरु गरेको विभागका महानिर्देशक कुमार दाहालले बताए ।
अब रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन्। त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
यो व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृतिका स्वदेश फर्कनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
त्यस्तै पुनः श्रम स्वीकृतिका नाममा हुने विकृति र विसंगतिसमेत अन्त्य हुने विभागको विश्वास छ ।
वि.सं.२०७७ पुस १४ मंगलवार १४:१५ मा प्रकाशित





























