१४ पुस, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन भएसँगै यसको देश तथा विदेशमा चर्को आलोचना भएको छ ।
प्रधानमन्त्रीको उक्त कदमको विरोध गर्दै नेपाली समाज अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटमा संयुक्त विरोध प्रदर्शन भएको छ ।
समाजका अध्यक्ष समिर महर्जनको संयोजकत्वमा २७ डिसेम्बरमा भएको उक्त विरोध प्रदर्शनमा प्रधानमन्त्रीको ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरिएको थियो ।
विरोधसभामा कार्यक्रमका संयोजक समिर महर्जनले संसद् विघटनप्रति आपत्ति जनाउँदै अधुरो संविधान संशोधन हुनु पर्ने बताउँदै यो विरोध सुरुवात मात्र भएको बताए । उनले कुनै पनि हालतमा संसद् पुनः स्थापना हुनुपर्ने बताउँदै कोभिड १९ को महामारीमा पनि विरोधसभामा सहभागी भइ साथ दिने सबै दाजुभाइ दिदी बहिनीलाई धन्यवाद दिएका थिए ।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले प्रधानमन्त्री ओलीले प्रजातन्त्रको लागि नक्कली नाटक गरेको तथा १४ वर्ष जेल बसेपनि त्यो प्रजातन्त्रको लागि नभएर आफ्नो स्वार्थ लागि बसेको भन्ने अहिलेको व्यवहारले बुझाउँछ भन्ने आरोप लगाए ।
गुरुङले संसारबाट ओलीको यस्तो कदमको विरोध भइरहेको बताउँदै एक थोपा रगत रहुन्जेलसम्म विरोध गर्न नछोड्ने बताउँदै प्रधानमन्त्री ओलीको भ्रम र नाटकमा नफस्न सबैलाई आग्रह गरेका थिए ।

जनजाति महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापा मगरले केपी शर्मा ओलीले आफ्नो पार्टीको खिचातानीमा सबै नेपालीको लोकतन्त्रप्रति खेलवाड गरेको बताए । उनले विदेशमा बसे पनि नेपालको राजनीतिमा चासो राख्नु पर्ने कारण नेपालीको खुन पसिनाले भरिएको रेमिट्यान्सले देश चलेकोले या विरोध स्वाभाविक रहेको बताए ।
यसैगरी सामाजिक अभियन्ता तथा युवानेता राधा कृष्ण देउजाले दुई तिहाई मत जनताबाट प्राप्त गरेका प्रधानमन्त्रीले संविधानलाई मृत अवस्थामा पुर्याउनु खोजेको तथा लोकतन्त्रको घाँटी रेट्न खोजेको आरोप लगाउँदै लोकतन्त्रको लागि हिजोसँगै गरेको आन्दोलनमाथि ओलीबाट घात भएको बताए ।

नेपाली समाज अमेरिकाका सल्लाहकार पूर्वडिआइजी तथा हाल प्रवास विशेष प्रदेश समितिको उपाध्यक्ष पार्वती थापा मगरले अहिले देशको अवस्था हेर्दा रगत पसिना बगाएर लडाइँ गर्ने समय आएको र महिला राष्ट्रपति भएको गौरव ठानेका बेला राष्ट्रपतिको निर्णयले सम्पूर्ण नेपालीलाई दःुख पुर्याएको बताइन् । उनले हालको अवस्थालाई ख्याल नगरी चुनावमा जाने अवस्था आएमा त्यो नेपाली जनताको लागि दुर्भाग्य हुने भन्दै सिक्किम र तिब्बतको स्मरण गराएकी थिइन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार डन्डु ढोक्प्या शेर्पाले संविधानमा नभएको अधिकार प्रयोग गरी ओलीले संसद बिघटन गरेको बताए ।
समाजसेवी तथा सामाजिक अभियन्ता आदित्य महर्जनले प्रधानमन्त्रीले मात्र नभएर राष्ट्रपतिले समेत गलत निर्णय गरेको बताएका थिए भने सामाजिक अभियन्ता महेन्द्र अधिकारीले हजारौँ नेपालीले रगत पसिना बगाएर, ज्यान गुमाएर ल्याएको लोकतन्त्र केपी शर्मा ओली र विधा देवी भण्डारीको लागि मात्र नभएको बताए ।
प्रवासी नेपाली एकता मञ्च अमेरिकाका महासचिव तथा कार्यक्रम संचालक शंकर पन्तले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद् विघटन गरेकोमा दुःखदपुर्ण स्थिति रहेको बताएका थिए ।
वि.सं.२०७७ पुस १४ मंगलवार १६:०० मा प्रकाशित




























