२४ पुष, काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १ सय रुपैयाँ बराबरको १५ करोड ३४ लाख ९१ कित्ता आईपीओ निष्काशन गरेको हो ।
कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६०२ जनाले मात्र न्यूनतम १० कित्ता शेयर पाउने हुँदा १० कित्ता शेयर खरिदको लागि नै आवेदन गर्नु नै उचित हुनेछ ।
कम्पनीले बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्काशन गरिसकेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधीमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ ।
यसअघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७७ पुस २४ शुक्रवार ०९:१३ मा प्रकाशित






























