२४ पुस, काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पदान गर्दै आएको सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ को बिजेता आउँदो मङ्गलबार घोषण गरिने भएको छ । उक्त अवार्ड समारोह भर्चुअल माध्यमबाट हुने पनि आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष एनएसजेएफले वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथ्लेटिक अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इयर अवार्ड प्रदान गर्दै आईरहेको छ । मञ्चले यसअघिनै मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।
मनोनयनमा परेका खेलाडीहरुलाई पुस २७ गते राति १२ बजेसम्म भोट गर्न सकिने छ । भोट गर्नका लागि फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा विजयी छनोट हुने छन् ।
खेलाडी छनोट समितिका संयोजक एवम् मञ्चका सचिव गोविन्द रेग्मीकाअनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन । भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउने छन् ।
वि.सं.२०७७ पुस २४ शुक्रवार १४:१२ मा प्रकाशित

























