पुस २८, काठमाडौं । नेपाली कांग्रेसका उपसभापपति विमलेन्द्र निधिले कांग्रेस सरकारले घोषणा गरेको निर्वाचन पक्षमा रहेको बताएका छन् । मंगलबार प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
निधिले संसद विघटन गर्ने निर्णयलाई भने असंवैधानिक र निरंकुश पनि भएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्नुभयो, उक्त कार्य असंवैधानिक मात्र होइन अलोकतान्त्रिक र निरंकुश पनि हो’, उनले भने, ‘ओलीको निर्णय अवैधानिक हो तर, निर्वाचन संवैधानिक हो, यसको विरोध कांग्रेससहितका दल र नेपालीले गरिरहेकै छन् ।’
उनले संविधानको रक्षाको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘विकल्प के त रु विरोध गरेर बस्नु पनि उचित होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ जनप्रतिनिधि चाहिन्छ, चाहे त्यो पुनर्स्थापनबाट होस वा निर्वाचनको माध्यमबाट ।’
कांग्रेसले सर्वोच्चको फैसलापछि नै आगामी कदम के चाल्ने भन्नेबारे निर्णय लिने बताए ।
प्रतिनिधि सभा विघटनसँगै मध्यावधी चुनाव गर्ने सरकारको घोषणामा कांग्रेस विभाजित छ । सभापति शेरबहादुर देउवा पक्ष निर्वाचनको पक्षमा देखिएको छ भने रामचन्द्र पौडेल पक्ष विरोधमा देखिएको छ । तर, कांग्रेस सरकारविरुद्व आन्दोलनका कार्यक्रममा भने सरिक छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार १३:२८ मा प्रकाशित






























