back
CTIZAN AD

ओलीको कदमप्रति किन सहमत छन् देउवा ?

वि.सं.२०७७ पुस २८ मंगलवार

744 

shares

पुस २७, काठमाडौं । नेकपाभित्रको विवाद चुलिएको बेला गत मंसिर ६ मा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता भएको थियो । बालुवाटारमा भएको गोप्य भेटवार्तामा प्रधानमन्त्री ओली र देउवा दुवैका विश्वास पात्रहरु पनि सहभागी थिए ।

जुन भेटवार्तामा ओलीले सत्ता साझेदारीको प्रस्ताव देउवा समक्ष राखेका थिए । देउवाका विश्वास पात्रले सार्वजनिक गरेको तथ्यअनुसार उक्त भेटमा ओलीले देउवासमक्ष दिर्घकालीन सहकार्यको प्रस्तावसमेत राखेका थिए ।

पार्टी विवाद चरमतातिर पुगेको बेला ओली र देउवाबीच उक्त भेटवार्ता भएको थियो । उक्त भेटपश्चात नै ओली र देउवाबीचका प्रत्यक्ष तथा अप्रत्यक्ष भेटवार्ता बाक्लिएका थिए ।

भेटवार्ता बाक्लिँदा अध्यादेश

ओली र देउवाबीच भेटवार्ता बाक्लिएकै बेला नेपाली राजनीतिमा नयाँ घटनाहरु पनि देखिए । देउवासँगको भेटवार्ता बाक्लिदैँ जाँदा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।

गत मंसिर ३० मा जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा देउवाले विरोध गरेको भएपनि भित्रि समर्थन रहेको उनी निकटस्थ नै बताउँछन् । संवैधानिक निकायहरुको नियुक्तीमा बाँडफाँड भएसँगै नै ओलीले अध्यादेश ल्याएको निकटस्थको भनाई छ ।

संवैधानिक परिषदसम्बन्धी बैठकहरुमा आफ्ना अडान राख्दै सभामुख सापकोटा उपस्थित नहुँदा पनि देउवा भने निरन्तर उपस्थित भईरहेका हुन्थे । अध्यादेश ल्याएसँगै आम कांग्रेस विरोधमा देखिएपछि देउवा उक्त दिन साँझ बोलाएको बैठकमा उपस्थित भएका थिएनन् ।

संसद विघटनमा देउवाको खुला समर्थन

नेपाली कांग्रेस संसद विघटन गर्ने निर्णयमा विभाजित छ । सभापति देउवासहित नेता संसद विघटन गर्ने निर्णय ठिक भएको मान्दछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उक्त निर्णय निरंकुश र अधिनायकवादी भएको बताउँछन् । पौडेल पक्ष आक्रामक रुपमा आन्दोलनमा जानुपर्ने बताईरहेका बेला देउवा भने चुनावी तयारी गर्नुपर्ने पक्षमा देखिएका छन् ।

संसद विघटनविरुद्व कांग्रेसले काठमाडौंमा आयोजना गरेको विरोध सभामा देउवाले चुनावमा जान आफुँहरु तयार रहेको कुरा खुलेरै बताएका थिए । उनले चुनाव वैशाखमा भएपनि फरक नपर्ने बताएका थिए ।

‘चुनाव अहिले नभएपछि दुई वर्षपछि भएपनि हुन्छ, नेपाली कांग्रेस चुनावमा जाने पार्टी हो, जानु पनि पर्छ,’ उनले भनेका थिए, ‘यसका लागि हामी तयार हुनुपर्छ, २ महिना होस् वा ६ महिना पछि।’

देउवाले ओली पक्षले चुनावी अभियान चलाईरहँदा आफुँहरु चुप लागेर बस्न नहुने बताएका थिए । ‘मलाई विश्वास छ, प्रधानमन्त्री ओलीले चुनाव गराउनु हुनेछ,’ देउवाले भनेका थिए, ‘प्रधानमन्त्री चै चुनाव प्रचारमा जाने अनि हामी चै चुप बस्ने भनेर हुँदैन।’

यसकारण ओलीको कदममा सहमत छन् देउवा

देउवा आफ्नै पार्टीभित्रको घेराबन्दीमा छन् । उनी निरन्तर पार्टी महाधिवेशन सार्ने प्रयासमा पनि छन् । यस्तोमा सत्ता साझेदारीसहित ओलीबाट आएको दिर्घकालिन सहकार्यको प्रस्तावमा उनी सहमत भएको उनी निकटस्थ बताउँछन् ।

यसै पनि विघटित प्रतिनिधि सभामा कांग्रेस दोस्रो पार्टी भएपनि निकै कमजोर अवस्थामा थियो । १७३ सिटसहित झण्डै दुई तिहाई बहुमतसहितको नेकपाको अगाडि कांग्रेससँग जम्मा ६४ सिट थियो ।

यस्तोमा नामको प्रतिपक्षी बनेको कांग्रेसलाई नयाँ चुनावमा जान पाउनु सुनौलो अवसर नै हो । साथै देउवाका लागि पार्टी महाधिवेशन सार्ने मौका पनि चुनाव हो । उनी उक्त मौकालाई हदैसम्मको प्रयोग गर्न चाहन्छन् ।

चुनाव भईहालेको खण्डमा विभाजित नेकपा कमजोर हुने र कांग्रेस पहिलो पार्टी हुने उनको बुझाई छ । जुन निर्वाचनबाट पुनः प्रधानमन्त्री बन्ने दृश्य उनले देखेका छन् । उनका निकटस्थ पनि देउवाले अवसरलाई भरपुर प्रयोग गर्न खोजेको बताउँछन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १५:३४ मा प्रकाशित