back
CTIZAN AD

सर्वोच्चमा नेकपा नामको मुद्दा, विभाजित नेकपाको नाम बदर भएमा के हुन्छ ?

वि.सं.२०७७ माघ ६ मंगलवार

825 

shares

माघ ६ गते, काठमाडौं । केहि दिनअघि विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एक टेलिभिजन अन्तरवार्ताका क्रममा सर्वोच्चमा विचाराधिन ‘नेकपा नामको’ मुद्दाको बारेमा आफ्नो धारणा राखेका थिए । उनले उक्त मुद्दामा न्यायोचित फैसला भएमा ऋषिराम कट्टेलकै पक्षमा हुनेसमेत बताएका थिए ।

उनको भनाईअनुसार अदालतको फैसलासँगै पार्टी विभाजनपश्चात सुरु भएको आधिकारिकताको लडाईँले पनि नयाँ मोड लिनेछ । अदालतको फैसलासँगै माधवकुमार नेपाल नेकपा (माओवादी केन्द्र)को नाममा गोलाकारभित्रको हँसिया हतौडासहितको चुनाव चिन्ह लिएर चुनावमा जानुपर्ने स्थितिसमेत हुनसक्ने विश्लेषण उनको छ ।

‘नाम र चुनाव चिन्हमा दुवै पक्षले दाबी गर्नुभएको छ, पाउने नपाउने निर्वाचन आयोगले निर्णय गर्ला’, गौतमले भनेका छन्, ‘तर यसबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेरो हो भनेर अदालतमा मुद्दा छ, साँच्चिकै निष्पक्ष रुपमा हेर्दा पहिलो निर्वाचन आयोगमा दर्ता भएको पार्टी उहाँकै हो, यस्तोमा माधव नेपालको पार्टी नेकपा (माओवादी केन्द्र) र चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा हुनसक्छ ।’

सर्वोच्चमा २ वर्षपछि एकाएक खुल्यो नेकपा नामको फाइल

सत्तारुढ नेकपाको विभाजनसँगै विभाजित पार्टीका दुई पक्षबीच पार्टीको आधिकारिता कसले हत्याउने भन्नेमा लडाईँ छ । दुवैले पार्टीको नाम र चुनाव चिन्हलाई जसरी पनि प्राप्त गर्नुपर्ने भन्दै आफ्नो बल लगाईरहेका छन् । तर, नेकपाभित्र आधिकारिकताको लडाईँ चलिरहेको बेला सर्वोच्चमा (नेकपा नामको मुद्दा)लाई भने एकाएक पेशीमा चढाइएको छ ।

ऋषिराम कट्टेलले २०७५ मंसिर २१ मा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी पहिले नै दर्ता भएको भन्दै पुनः नेकपा दर्ता गराएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, मुद्दा निरन्तर स्थगित र हेर्न नभ्याईनेमा पर्दै आएको थियो ।

मंगलबार भने मुद्दामा एकाएक पेसी तोकियो । तर, सरकारी पक्षका कारण सुनुवाई केहि दिनका लागि सारिएको छ । जनाएअनुसार अदालतले अर्को पेसी आगामी माघ २२ को लागि तोकेको छ ।

नेकपा विभाजनसँगै आधिकारिकताको विषयमा लडाईँ चलिरहेका बेला निरन्तर स्थगनमा पर्दै आएको मुद्दाको फाइललाई एकाएक खोलिनुलाई अर्थपूर्णं रुपमा लिइएको छ । अहिले मुद्दा निवेदकको पक्षमा फैसला भएमा के हुन्छ भन्नेमा धेरैको चाँसो छ ।

मुद्दाको फैसला कट्टेलको पक्षमा भए के हुन्छ ?

वरिष्ठ अधिवक्ता बोर्ण कार्कीअनुसार दल दर्ता खारेजीको मुद्दामा सर्वोच्चको अन्तिम फैसला कट्टेलको पक्षमा भएका डबल नेकपा अर्थात् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने नाम बदर हुन्छ । यदि कट्टेलको विपक्षमा फैसला गरेको खण्डमा अहिलेका दुवै दल निर्वाचन आयोगमा यथावत रहन्छन् ।

उनका अनुसार अदालतको फैसला बदरको पक्षमा आएमा विभाजित नेकपाका नेताहरु अर्को नाम लिएर निर्वाचन आयोग जानुपर्ने हुन्छ । निर्वाचन आयोगले नाम सच्याउन नेकपालाई सूचना पठाउँछ ।

कार्कीले भने, ‘अदालतले दुवै नाम एउटै जस्तो भयो त्यसकारण पछि दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा नेकपा एउटै हो भनेर सर्वोच्चले निर्णय गर्यो भने निर्वाचन आयोगबाट दर्ता नै खारेज हुने होइन् त्यो भईरहेको नाम बदर भएको मानिन्छ । निर्वाचन आयोगले ब्राकेटमा अर्को कुनै नाम थप्नुस भन्छ ।’

उनले बताएअनुसार दलको नाम बदरको मुद्दाले चुनाव चिन्हका विषयमा भने केहि समस्या पार्नेछैन् । ‘अदालतको फैसलाले चुनाव चिन्हमा कुनै प्रभाव पार्दैन्, नाम सच्याउने मात्रै कुरा हुन्छ, ऋषि कट्टेलको उजुरी हामीले लिएको चुनाव चिन्ह उनीहरुले लिए भन्ने दाबी हो’, अधिवक्ता कार्कीले भनेका छन्, ‘सर्वोच्चले नाम बदर गरिदियो भने पनि निर्वाचन आयोगले सच्याउन लगाउँछ तर, चुनाव चिन्ह त्यहि हुन्छ ।’

नाम परिवर्तनले पर्नसक्छ जनमतमा समस्या

नेकपा विभाजित भईसकेको छ र अहिले विभाजित नेकपाका दुई पक्षबीच आधिकारिकताको लडाईँ छ । यसबीच सर्वोच्चले नेकपा नामको मुद्दालाई अगाडि बढाएको छ । नेता वामेदव गौतमले भनेअनुसार न्यायोचित फैसला गरे डबल नेकपा भन्ने नाम बदर हुन्छ ।

यस्तोमा नामसमेत परिवर्तन गर्नुपर्दा विभाजित नेकपाका दुवै पक्षलाई समस्या पर्ने राजनीतिक विश्लेषकको बुझाई छ । राजनैतिक विश्लेषक मुकुन्द आचार्यका अनुसार पार्टीको नाम परिवर्तन र चुनाव चिन्ह परिवर्तनले पार्टीको पक्षमा आउने चुनावी जनमत निकै खस्कन सक्छ । उनका अनुसार दुवै नामलाई जनताले अनुमोदन गर्ने कुरामा समस्या हुन्छ ।

‘नाम र चुनाव चिन्ह परिवर्तन हुँदा निकै प्रभाव पर्छ किनभने सबै मतदाता शिक्षित छैनन्, साथै पार्टीको बारे सबै कुरा सम्प्रेषण हुन पनि सक्दैन्’, आचार्यले भने, ‘यदि पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन भएमा जनतामा निकै अन्यौंलता आउनेछ, यस्तो अवस्थामा कुनै एक पक्ष मात्रै होइन दुवै पक्ष निकै कमजोर हुने सम्भावना छ ।’

उनले आउने निर्वाचनहरुमा दुई तिहाई धेरै परको दुवैको मत जोड्दा बहुमत पनि नआउने स्थिति हुने सम्भावना दर्शाए ।

सम्बन्धित समाचार

नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल

वि.सं.२०७७ माघ ६ मंगलवार १९:३५ मा प्रकाशित