माघ १४, काठमाडौं । नेकपाको विवादमा निर्वाचन आयोगले गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता ईश्वर पोखरेलले स्वागत गरेका छन् । उनले आयोगको निर्णयले नेकपा सकिनबाट जोगिएको बताए ।
विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीलाई सिध्याउन अनेकन आपराधिक खेलहरु खेलेको भन्दै उनले निर्वाचन आयोगको निर्णयसँग त्यस्तो खेल पनि सकिएको बताए । उनका अनुसार प्रचण्ड पार्टी एकतादेखि नै समिकरण बनाउने र त्यसैको बलमा ढाडमा टेकेर टाउकोमा हान्ने आपराधिक अभ्यासमा थिए ।
‘गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यास र त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात, अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो’, पोखरेलले भनेका छन्, ‘यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएको छ, धन्यवाद छ, निर्वाचन आयोगलाई !’
निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्य
————————————————-
माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट…Posted by Ishwar Pokhrel on Wednesday, January 27, 2021
निर्वाचन आयोगको निर्णयलाई नेकपालाई पुनः एकताबद्ध गर्ने अवसर मिलेको भन्दै पोखरेलले नयाँ धारबाट एकता गर्नुपर्ने पनि बताएका छन् । उनले पुरानो सोंच र प्रवृत्ति मानिसलाई छाड्दै नयाँ पंक्ति पार्टीमा आउनुपर्ने बताए । उनका अनुसार ‘आउट डेटेड’हरुको समय सकिएको छ ।
उनले भनेका छन्, ‘नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र “अपडेटेड“ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ-बढ्छ साथै , नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू, सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !’
वि.सं.२०७७ माघ १४ बुधवार १८:४४ मा प्रकाशित






























