१५ माघ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेका सहायक सूचकको हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका सोहि उपमहानगरपालिका ६ फुल्टेक्राका १८ वर्षीय बिवेक परियार हत्या अभियोगमा पक्राउ परेका हुन् ।
मगर गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
वि.सं.२०७७ माघ १५ बिहीवार १६:३६ मा प्रकाशित






























