२७ माघ, काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अपराधिको नजिक पुगेको बताएका छन् ।
मंगलबार बिहान भागरथी हत्या घटनाको अनुसन्धानमा कुनैपनि कमजोरी नहोस् भन्दै नेविसंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री थापाले निर्मला पन्तको जस्तो जटिलता भागरथीको घटनामा नभएकोले सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको र प्रहरी अपराधि नजिक पुगिसकेको बताएका थिए ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराईसहितको टोलीले मंगलबार बिहान गृहमन्त्रीलाई भेटेर निर्मला पन्तको हत्या अनुसन्धानमा जस्तो कमजोरी नहोस् भन्दै अपराधिलाई तत्कालै पक्राउ गरी हदैसम्मको कारबाहीको माग गरेको हो ।
‘विगतका दिनमा निर्मला पन्त र सम्झना वि.क लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा उक्त घटनाका अपराधिलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएको हुनाले हाम्रो समाजमा यस्ता अमानविय र क्रुर घटनाले प्रश्रय पाउँदै गएको हाम्रो ठहर छ ।’ नेविसंघद्धारा गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षपत्रमा भनिएको छ, ‘जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो दायित्व हो भन्ने कुरा सरकारले नभुलोस् र सो दायित्व पूरा गर्न गम्भीर रुपमा ध्यान केन्द्रीत गरोस् भनेर खबरदारी गर्दछौं ।’

नेविसंघले हत्याका अपराधिलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारले तदारुकता देखाओस् भन्दै यस्ता घटना फेरि नदोहोरिने कुरामा नेपाली जनता ढुक्क भएर बस्ने अवस्थाको प्रत्याभूति दिलाओस् भन्ने माग समेत गरेको छ ।
‘ अझ विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीको जीउ धनको रक्षार्थ सुरक्षा रणनीति तर्जुमा गरोस् । अब फेरि हाम्रा अभिभावकले स्कुल गएकी छोरी बलात्कारको सिकार हुने हो कि भनेर घरमा चिन्ता लिदै बस्न नपरोस् ।’ नेबिसंघले भनेको छ ।
बैतडीको दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको गत बुधबार कलेजबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या भएको थियो ।
वि.सं.२०७७ माघ २७ मंगलवार ११:२६ मा प्रकाशित





























