२९ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
माघ २८ गते वीरगञ्जमा सम्पन्न सभाद्वारा शेयरघधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हो ।
अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।
अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति शेयर अंकित मूल्य रु.१०० को व्यवस्थालाई परिवर्तन गरि प्रति शेयर अंकित मूल्य रु.५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जनाएको छ ।
सभाबाट आ.व. २०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।
सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
साथै संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।
हाल यस कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ ।
कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीको दावी छ ।
यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार १२:५४ मा प्रकाशित





























