२ फागुन, काठमाडौं । माघ २१ गते विद्यालय गएकी बैतडीकी १७ वर्षीया भागरथी कहिल्यै नफर्किने गरी अस्ताइन् । विद्यालयबाट आउँदै गरेकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलीपल्ट (विहिबार) घरनजिकैको जंगलमा शब फेला परेको थियो ।
उनको हत्यापछि बिभिन्न तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । परिवारले दोषी पत्ता नलागेसम्म शब नबुझ्ने भनेकाले शबको दाहसंस्कार हुन सकेको छैन । पोष्टमार्टमपछि उनको शब अस्पतालकै कोठामा राखिएको छ ।
श्रीमानको मृत्युपछि बरखी बारिहेकी भागरथीकी आमा द्रोपदीलाई यतिबेला श्रीमानको मृत्युको पीडा र छोरीको हत्याको पीडाले सहि नसक्नु भएको छ । श्रीमानको मृत्युपछि चित्त बुझाउनका लागि काखमा रहेकी एउटी छोरीको पनि मृत्युपछि उनको सहारा टुटेको छ ।
११ दिनदेखि द्रोपदीले खाना खान सकेकी छैनन् । भन्छिन्, ‘छोरीको शब अस्पतालमा छ, घरमा कसरी खाना खाउँ ?’ आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।
दिनभरजसो बन्द रहने उनको सानो घरको ढोका साँझपख आफै खोल्छिन । ढोका खोल्दा छोरीको सम्झना झन् गाढा भएर आउँछ । ‘छोरीको कपडाले झस्काउने गरेकाले गोठमा राखे पनि यादहरु कहाँ राखुँ ? बोलाउँछु तर छोरी आउँदिन,’ द्रौपतीले भनिन्, ‘कसरी मार्यो होला बैरीले, अन्तिमपटक के भनी होली ? गरिबका छोराछोरीहरुलाई बाँच्नै गाह्रो ।’
भागरथी हत्या घटनाको अनुसन्धानमा लागिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले अनुसन्धान सफलतातर्फ उन्मुख रहेको तथा अपराधि नजिक पुगेको बताएका छन् ।
वि.सं.२०७७ फागुन २ आइतवार ०८:४६ मा प्रकाशित






























