२ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आजदेखि स्थानीय निकायका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतलाई लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज फागुन २ गतेदेखि ८ गतेसम्म लगाइने उक्त खोप अभियान कार्यक्रम अन्तर्गत सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानिय निकायका जनप्रतिनिधिलाई लगाइने भएको हो ।
त्यसैगरी पहिलो चरणमा छुटेका सीमा सुरक्षामा खटिएका प्रहरी, स्वास्थ्यकर्मी, स्वयम्सेवक, एम्बुलेन्स चालक र शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि खोप लगाइने छ ।
उपत्यकामा खोप लगाउनका लागि सिभिल अस्पताल बानेश्वर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल छाउनी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रसुति गृह, थापाथली, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, सहिद गंगालाल हृदयकेन्द्र बाँसबारी लगायतबाट खोप लगाउन सकिने पनि मन्त्रालयले जनाएको छ । खोपका लागि आफु कार्यरत सम्बन्धीत संस्थाको परिचय पत्र साथमा लैजान पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार ०९:४६ मा प्रकाशित






























