फागुन २, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । नेकपाका नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेकी थिइन् । संसद विघटनपश्चात नै सत्तारुढ नेकपामा विभाजन आएको थियो ।
विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्ष उक्त कदमका विरुद्व निरन्तर सडक आन्दोलनमा छ । नेकपाले यसअघि सडक प्रदर्शन र शहर केन्द्रीत विरोध सभासमेत गरिसकेको छ । संघीय राजधानी काठमाडौंसहित बुटवल, धनगढी, विराटनगर, सुर्खेतलगायतका शहरमा विरोध सभा गरिसकेको छ ।
तेस्रो चरणको कार्यक्रममा संयुक्त प्रदर्शन तथा सभाहरुको तयारी गरिएको पनि बुझिएको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १३:१५ मा प्रकाशित






























