२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले चौथो चरणको आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएसँगै देशैभरी तीन चरणमा आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको सो पक्षले आइतबार पत्रकार सम्मेलन गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो ।
चौथो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत फागुन ५ गतेदेखि १२ सम्म सम्बन्धीत प्रदेश कमिटीको आयोजनामा जिल्ला–जिल्लामा विरोध प्रदर्शन तथा सभा गरिने प्रचण्ड-नेपाल पक्षले जनाएकाे छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुडिखेल वरिपरी दिउँसो ४ देखि ५ बजेसम्म (१ घण्टा) मानव साङलो बनाएर विरोध कार्यक्रम गर्ने ।
फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम गरिने ।
फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलहरुमा हस्ताक्षर कार्यक्रम गर्ने । प्रत्येक वडामा सो पक्षका कमिटीहरुले हस्ताक्षर संकलन गर्ने । जनवर्गीय, पेशागत र वुद्दिजीवी संगठनहरुले पनि हस्ताक्षर अभियानमा सहिभागी हुनेछन् ।
फागुन ८ गते काठमाडौंमा पेशागत र वुद्दिजीवी संगठनहरुको आयोजनामा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने । यो अन्तरक्रियामा आन्दोलनमा रहेका सबै राजनीतिक दल र बिभिन्न बौद्धिक समुदायको उपस्थिति रहनेछ ।
फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध उपत्यका र जिल्लास्तरीय रुपमा देशव्यापी रुपमा महिलाहरुको विरोध कार्यक्रम आयोजनागर्ने ।
फागुन १० गते काठमाडौं र अन्य जिल्लामा दलित मोर्चाहरुद्धारा विरोधका कार्यक्रम आयोजना गर्ने ।
फागुन ११ गते मधेशी आदिवासी, जनजाति महिला, मुस्लिम थारु, लगायतका उत्पीडित समुदायको सास्कृतिक पहिचान सहितको विरोध कार्यक्रमको आयोजना गर्ने ।
फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा ठूलो जनप्रदर्शन गर्ने बताइएको छ । साथै जनकपुर र नेपालगन्जमा ठूलो विरोध प्रदर्शन गरिने र त्यसको मिति पछि तोकिने बताइएको छ ।
फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्यालीको आयोजना गर्ने ।
फागुन १५ गते किसान, सुकुम्वासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ ।
सो पक्षले यसअघि पुष १४ गते, माघ ९ गते र माघ २८ गते विशालरुपमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । त्यसैगरी काठमाडौं बाहिर प्रदेश नं १ को विराटनगरमा, लुम्निी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा, सुदूरपश्चिमको धनगढी लगायतमा वृहत् प्रदर्शन सम्पन्न गरेको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १५:२१ मा प्रकाशित






























