back
CTIZAN AD

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वि.सं.२०८३ असार २८ आइतवार

288 

shares

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन । जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो ।

बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको छ । बर्खाको समयमा ढोरपाटन अरु बेलाभन्दा बढी रमणीय देखिने हुँदा यो सिजनमा पर्यटक बढी आउने गरेका हुन् । दैनिक २०० बढी पर्यटक ढोरपाटन आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए । ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उनको भनाइ छ ।

अध्यक्ष पुनले भने, “पहिला पनि ढोरपाटन उपत्यकामा अत्यधिक मात्रामा फूलहरू फूल्थे तर प्रचारप्रसार नहुँदा पर्यटक आउन सकेका थिएनन्, अहिले मिडिया र सामाजिक सञ्जालमा फोटो भिडियो आउँदा पर्यटकको आकर्षण बढेको छ, एक दशक अगाडि त ढोरपाटनमा पर्यटक खासै आउँदैनथे, यहाँका स्थानीय पनि घुम्ती बसाइमात्रै बस्ने गर्थे ।”

स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । वनफूल पाटनैभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ ।

चितवनको माडीका महेश थापाले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियो देखेर ढोरपाटन घुम्न आएको बताए । गत वर्षदेखि नै ढोरपाटन घुम्न आउने योजना बनाएको भन्दै यसपालि १३ जनाको समूह वनफूल र्हेन आएको उनले सुनाए । चारैतिर फुलेका वनफूल र यहाँको वातावरण निकै मनोरम लागेको थापाको भनाइ छ ।

दाङको तुल्सीपुरबाट आउनुभएका कुलेन्द्र पनेरुले ढोरपाटन आउँदा मन फुरुङ्ग भएको बताए । दाङमा यतिबेला निकै गर्मी रहेको भन्दै ढोरपाटनमा भने निकै चिसो मौसम रहेको सुनाए । यहाँको प्राकृतिक सुन्दरता र हावापानीका बारेमा प्रचार गर्न सके विदेशी पर्यटकलाई सहज रूपमा ल्याउन सकिने उनको भनाइ छ । ढोरपाटनसम्म आउने सडकको केही स्थानमा अप्ठ्यारो हुँदा सास्ती खेप्नुपरेको पनेरुले दुःखेसो पोखे ।

बुर्तिबाङदेखि ढोरपाटनसम्म करिब ३२ किलोमिटर कच्ची सडकयात्रा गर्नुपर्छ । अहिले बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल भए पनि त्यसभन्दा माथिको खण्डको दुरावस्था छ । जसका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो सडकलाई व्यवस्थित गर्ने बताए । अहिले कालोपत्र गर्नका लागि सडक फराकिलो बनाउने काम भइरहेको हुँदा केही स्थानमा हिलाम्मे बनेको भन्दै पर्यटकको यात्रालाई सहज बनाउन गेग्रेटा हालेर व्यवस्थित बनाउने उनको भनाइ छ । ढोरपाटनमा आउने सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको कायत बताउछन् ।

 

वि.सं.२०८३ असार २८ आइतवार ०८:०९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...