फागुन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतकाे अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । बिहिबार बिहान उनी सर्वोच्च अदालत पुगेका हुन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्व अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । उनकाे अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।
ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
वि.सं.२०७७ फागुन ६ बिहीवार ११:५९ मा प्रकाशित






























