फागुन ९, काठमाडौं । गत मंसिरमा मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै पार्टी एकता हुन लागेको घोषणा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सरकार र विप्लव समूहबीच वार्ताको कुरा आउँदा आपत्ती जनाएका छन् । किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लवले सत्ता साझेदारी खोजीरहेको आरोप लगाएका छन् ।
सरकार–विप्लव वार्ताको तयारी भईरहेका बेला सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले वार्ताको प्रक्रियासँगै विप्लव समूह सकिने पनि बताएका छन् ।
‘सत्ता साझेदारी खोजेका विप्लव समूहको राजनीतिक मृत्युको कारण अवस्तुवादी दृष्टिकोण तथा उपभोक्तावादी संस्कृति हो’, विप्लवले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘विप्लवलाई चिन्न बेर लाग्दैन’
उनले विप्लवको चरित्र अन्य नेताको भन्दा गम्भिर भएको पनि टिप्पणी गरेका छन् । उनका अनुसार ओलीलाई चिन्न ३० वर्ष लाग्यो भने प्रचण्डलाई चिन्न १५ वर्ष । विप्लवलाई चिन्न ५ वर्ष पनि नलाग्ने उनको टिप्पणी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहसहित पूर्वमाओवादीको समूहलाई फकाउन लागिरहेको चर्चा चलेको बेला किराँतीको अभिव्यक्ति गम्भीर देखिन्छ । किराँतीको अभिव्यक्तिबाट विप्लव हालै संसदीय व्यवस्था विकल्प खोज्दै घोषणा भएको मोर्चाभित्र पनि समस्या आउनसक्ने सम्भावना देखिन्छ ।
वि.सं.२०७७ फागुन ९ आइतवार १४:२१ मा प्रकाशित






























