काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’, का लागी ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष केपी पाठकले एक बिज्ञप्ती जारी गर्दै चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब ‘निफ’ को लागि संसारका ५२ देश बाट ४५० चलचित्र प्राप्त भएको जनाएका छन् ।
कोरोनाको महामारीमा आफुलाई विश्वास गरेर चलचित्र पठाउनु हुने संसारका चलचित्रकर्मीलाई समेत आभार ब्यक्त गरिएको बिज्ञप्तीमा आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको भनिएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ । त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
वि.सं.२०७७ फागुन ९ आइतवार १४:२८ मा प्रकाशित





























