फागुन ९, काठमाडौं । प्रदेश २ को प्रमुखमा गरिएको फेरबदलप्रति प्रदेश सरकारभित्र तिव्र असन्तुष्टी देखिएको छ ।
संघीय सरकारले शुक्रबार दलित समुदायका तिलक परियारलाई हटाएर राजेश झा ‘राजेश अहिराज’लाई प्रदेश प्रमुख बनाएको थियो । बिनाकारण दलित समुदायका परियारलाई हटाएर झालाई ल्याइएको भन्दै असन्तुष्टी देखिएको हो ।
जसको झल्को आइतबारको स्वागत कार्यक्रममा पनि देखिएको थियो । प्रदेश प्रमुख बनेका अहिराजलाई प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता तथा कार्यकर्ताले भव्य स्वागत गर्दा सरकारले सामान्य स्वागत गरेर असन्तुष्टी देखाएको छ ।
आइतबार जनकपुर पुगेका झालाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउत र केही मन्त्री मात्रै पुगेका थिए । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र शाहले सार्वजनिक रुपमै बहिस्कार गर्ने बताएका थिए ।
जनकपुर पुगेका झा जानकी मन्दिर पुगेर पुजापाठ गरि प्रदेश प्रमुखको निवासतर्फ गएका थिए ।
वि.सं.२०७७ फागुन ९ आइतवार १८:१३ मा प्रकाशित






























