फागुन २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेता महेश बस्नेत निर्वाचन आयोग पुगेका छन् । नेकपाको आधिकारिकताको विषयमा टुंगो लगाउँदै गरेको चर्चा भईरहेको बेला बस्नेत बिहीबार दिउसो आयोग पुगेका हुन् ।
आयोग पुगेका बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तसँग छलफल गरेका छन् । आयोग स्रोतले बताएअनुसार उनले प्रचण्ड–नेपाल पक्षबाट गरिएको दाबी गलत भएको र हस्ताक्षर झुट भएको बताएका छन् ।
उनले प्रचण्ड–नेपाल समूहले बुझाएको हस्ताक्षर पुरानो भएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको बुझिएको छ ।
प्रतिनिधि सभा विघटनसँगै नेकपामा विभाजन आएको थियो । तर, व्यवहारिक रुपमा विभाजित बनेको नेकपाको कुन पक्ष आधिकारिक भन्ने विषयमा आयोगले हालसम्म पनि टुंगो लगाएको छ ।
सर्वोच्चको फैसलासँगै संसद बैठक आव्हान भएको अवस्थामा आयोगले निर्णय गर्ने तयारी गरेको छ । फैसलाबारे अन्तिम निर्णयको तयारी गरिरहेको बेला बस्नेत आयोग पुगेका हुन् ।
यसअघि पनि प्रधानमन्त्री ओली पक्षले आयोगलाई दबाब दिएका कारण निर्णय प्रक्रियामा ढिलाई भएको टिप्पणी हुँदै आएको छ । जसप्रति चौतर्फी आलोचना भईरहेको छ । बुधबार मात्रै आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोगको ढिलाईप्रति विज्ञप्ती नै निकालेर आपत्ती जनाएका थिए ।
वि.सं.२०७७ फागुन २० बिहीवार १५:३३ मा प्रकाशित






























