फागुन २१, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बिहिबार भएको तीन बुँदे सहमति सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
सहमती पत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार एवं वार्ता टोलीका सदस्य राजन भट्टराईले पढेर सुनाएका थिए । तीन बुँदे सहमतीमा विशेषत विप्लव नेकपाले शान्तीपूर्णं रुपबाट आफ्नो राजनीतिक क्रियाकलाप गर्ने र सरकारले विप्लव नेकपामाथि लगाएको सबै प्रतिबन्धहरु खारेज गर्दै पक्राउ नेता तथा कार्यकर्ता रिहाई गर्ने सहमती छ ।
यस्तो छ सहमती भएको तीन बुँदा
१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १५:४० मा प्रकाशित






























